दसैँ लक्षित सडक मर्मत

पाल्पा । वर्षातका कारण बिग्रीएका ग्रामीण सडकहरु नेपालीहरुको ठूला पर्व आएसंगै मर्मत गरिएको छ । दसैँ, तिहार जस्ता ठूला पर्वमा आमनागरिकलाई सहज बनाउने उद्देश्यले ग्रामीण स्तरका सडकहरु धमाधम डोजरको प्रयोग गरी मर्मत कार्य गरिएको छ ।

हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत गर्ने कार्य भएपनि सडकको दिगो स्तरोन्नतिका लागि ठोस पहल भएको देखिदैन । यो ग्रामीण सडक मर्मत कार्य पनि पर्व आएजस्तै हरेक वर्ष हुनेगरेको छ । वार्षिक रुपमा पर्व तथा जात्रामा गरिने सडक मर्मतमा लाखौं रुपैयाँ खर्च हुनेगरेको छ । तर, सडक मर्मत कार्य भने प्रभावकारी बन्न नसकेको स्थानीयवासीको गुनासो छ । सधै सडक मर्मत हुनेखाने र ठूलाबडाको पहुँचमा हुने र आवश्यक रहेको स्थानमा सडक नबन्ने उनीहरुको भनाइ छ ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले ग्रामीण स्तरका सडक मर्मत कार्य भएकोले ग्रामीण स्तरका सडकहरु सफा र चिटिक्क भएको दाबी गर्नुभयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले चाडपर्वलाई लक्षित गर्दै ग्रामीण सडकहरु मर्मत कार्य गरिएको जानकारी दिनुभयो । दसैँ तिहार जस्ता पर्वहरु मनाउन गाउँमा आउनेको सङख्या पनि बढी हुने र वर्षात पनि रोकिएकाले सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

यस्तै रम्भा गाउँपालिकाले पालिका भित्रका सबै सडकहरु मर्मत गर्ने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो । केही दिन पहिले देखि सडक मर्मतका लागि डोजरहरु लगाइएको बताउँदै सडकहरु मर्मत गर्ने कार्यअन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

रिब्दीकोट गाउँपालिकाले वडाबाट कार्यन्वयन हुने गरी बजेट विनीयोजन गरेको र वडाको समन्वयमा सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो । माथागढी गाउपालिकाले पनि आवश्यकता अनुसार ग्रामीण सडकहरु मर्मत गरेको गाउँपालिका अध्यक्ष यमबहादुरचिदीले बताउनुभयो ।

जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिका सहित १० स्थानीय तह रहेका छन् । पर्वका समयमा सबै स्थानीय तहहरुले ग्रामीण स्तरका सडकहरु मर्मत तथा सफा गर्ने गरेका छन् ।

सम्बन्धित खवर