
पाल्पा । दसैंका बेला फोक्सिङ्गकोटकी दुर्गीमाया रानाले खसी बोका बेच्दा भएको आम्दानीले दसैं मनाउन सहज भएको बताउनुभएको छ । उहाँले शनिबार मात्र १ लाख ७१ हजार ७ सय ९० रुपैयाँको ६ वटा खसी बेच्नुभएको थियो । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट बेलौजाकी रानाले दसैं खर्चबाट बचेको रकम सहकारीमा राख्ने बताउनुभएको छ । उहाँको खोरमा अहिले पनि खसी र बाख्रा गरी २१ वटा पशु चौपाया रहेका छन् । बाख्रा पालनबाट आम्दनी हुनथालेपछि श्रीमानले मलेसियामा कमाएको पैसा घरको लागि खर्च गर्न नपर्ने अवस्था भएको रानाको भनाइ छ । पछिल्लो समय फोक्सिङ्गकोटका बाख्रापालक कृषकहरुले राम्रो आर्थिक लाभ लिन सफल भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले स्थानीय बाख्रापालक कृषकलाई सहजीकरण गर्ने र बजारीकरणमा सहयोग गरेपछि फोक्सिङ्गकोट बाख्रा पालन पकेट क्षेत्र बनेको छ । दसैं लक्षित कार्यक्रम तय गरी फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, बेलौजा, झोकेदी, सुरुमडाँडा, फोक्सिङ्गडाँडा, नम्टाहा, बोरोङ्गसे, गाबुडाँडा गाउँबाट करिव ४८ लाख २७ हजार रुपैयाँ बढीको खसी बोका बेचेका छन् । दसैं अगाडिमात्र ३ सय १५ वटा खसीबोका विक्री गरिएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडेमगरले बताउनुभयो । दसैं सकिए लगत्तै थप १ सय ५० खसी बोका विक्री गरिने योजना व्यवस्थापक पाडेमगरले जानकारी दिनुभयो ।
कृषकहरुलाई समूहमा आबद्ध बनाई खोर व्यवस्थापन, नश्ल सुधार, उन्नत जातको घाँस विकास, रोग तथा परजीवी नियन्त्रण कार्यलाई व्यवस्थापन गरेपछि कृषकले गुणस्तरीय खसीबोका उत्पादन गरेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजाली बताउनुभयो । रम्भा गाउँपालिका र केही सामाजिक संस्थाको आर्थिक, प्राविधिक तथा नीतिगत सहयोग पाएपछि सहकारी संस्थाले बाख्रा पालनमा कृषकलाई राम्रो सहजीकरण गर्न सफल भएको छ ।
रम्भा गाउँपालिकाले उत्पादनमा आधारित नीति लिएपछि किसानहरु झन् हौंसिएको रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । गत वर्ष मात्र रम्भा गाउँपालिकाले फोक्सिङ्गकोटका बाख्रा पालक किसानको लागि करिब ९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । फोक्सिङ्गकोट क्षेत्रमा पर्याप्त मात्रामा चरन क्षेत्र भएको, हावापानी मिलेको र किसानहरु पनि मिहेनेती भएकोले बाख्रा पालन फस्टाएको हो । यहाँ उत्पादन भएको खसीबोका तानसेन, बुटवल, वालिङ्ग तथा पोखरालगायतका स्थानमा विक्री हुने गरेको छ ।