शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ काम गछौं : प्रप्रअ दयाल

पाल्पा । निस्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर काम गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ । उहाँले यस वर्ष शिक्षाको गुणस्तर र विद्यार्थी संख्या वृद्धि गरेर स्थानीय विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने कामको तयारी सुरु गरिसकिएको बताउनुभयो ।

उहाँले अहिले विद्यालयस्तरको अनुगमनसंगै तथ्यांक संकलन र विद्यालयको माग संकलन भैरहेको छ । करिव ७५ प्रतिशत काम सकिएको छ । अनुमगनको काम छिटै सकेर प्राप्त तथ्यांकाको विश्लेषण गरी विद्यालय मर्ज र दरबन्दी मिलान सहित दक्ष शिक्षकको पदपूर्ति गरेर अगाडि बढ्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत दयालको भनाइ छ ।

भौगोलिक विकटताका कारण विद्यालयहरुमा विद्यार्थीहरुको सहज पहुँच नहुँदा पनि समस्या भएकोले गाउँपालिकाले आवश्यकता अनुसार विग स्कुलको अवधारण अघि सार्ने उहाँले बताउनुभयो । यससंगै विद्यालयहरुमा छात्राबासको व्यवस्थापन गर्दा पनि विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने भएकोले यस विषयमा पनि काम हुने प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयो ।

यस्तै स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राखेर काम हु्ँने निस्दी गउाँपालिकाले जनाएको छ । गत वर्षदेखि सुरु भएको वडामा गर्भवती महिलाको गर्भ परीक्षणको लागि घुम्ती भिडियो एक्सरे सेवा यस वर्ष प्रत्यक वडामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन सहित आवश्यक प्रविधि र पूर्वाधारको विकास गरिने प्रमुख प्रशासकीय अधिकृत दयालले जानकारी दिनुभयो ।

यस्तै आमनागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि अधिकांश वडामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण कार्य भैसकेको र हुन बाँकी २ वटा वडाहरु सहलकोट र ज्यामिरेमा भवन निर्माणको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । यसका साथै १५ शैयाको अस्पताल निर्धारित समयमा सम्पन्न गरी आगामी चैत्र भित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत दयालल बताउनुभयो । यस बाहेक सुत्केरी पोषण कार्यक्रम, शून्य घरमा सुत्केर कार्यक्रमले निरन्तरता पाएका छन ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु सहितको जनप्रतिनिधिहरुले आफ्ना नागरिकलाई सहज सेवा प्रवाहमा ध्यान दिएर निर्माण गरिएको योजना कार्यान्वयनमा कर्मचारीहरु सक्रियाताका साथ लागि परेको प्रमुख प्रशासकीय अधिकृत दयालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर