दसैँमा बढ्यो चहलपहल

पाल्पा । बडादसैँ नजिकिएसंगै तानसेन र आसपासका बजार क्षेत्रमा चहलपहल बढेको छ ।

वर्ष दिनको पर्व मनाउनका लागि नयाँ कपडा किन्ने, खाद्यान्न व्यवस्थापनलगायतका सामाग्री खरिद बिक्रीका लागि उपभोक्ताको चाप बढेको हो । पछिल्लो समय बजारमा मन्दी भए पनि पर्व भित्रिएसंगै बजार क्षेत्रमा चहलपहल देखिएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्थामा पनि नयाँ पैसा साट्ने र किनमेलका लागि रकम निकाल्नेहरुको बाक्लो भिड रहेको छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन साइतका समयमा आफूभन्दा ठूला मान्यजनहरूको हातबाट बडादसैँको टीका प्रसाद ग्रहण गर्ने गरिन्छ । यो नेपालीहरूको सबैभन्दा ठूलो चाड हो ।

कोभिड १९ संक्रमण पछि सहज बनेको नागरिकको जीवनशैली बजारमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय झन् समस्यामा छन् । तर पनि वर्ष दिनको पर्व भएकोले यस पटकको दसैं भव्य रुपमा मनाउने तयारीमा छन् ।
रोजगारी र अध्ययनका लागि घर बाहिर पुगेका अधिकांश नागरिक आफ्नो जन्मथलोमा मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्न गाउँ आउने क्रम बढेको तानसेन ९ टिन्टीआँपका छविलाल भट्टराईले बताउनुभयो ।

गाउँघरका पुराना माटाका घर लिपपोत भएका छन् । अरुबेला गाउँका सबैजसो घरमा ज्येष्ठ नागरिक मात्र बस्छन् । सबैजसो शिक्षा, रोजगारीका लागि गाउँ बाहिर बस्छन् । तर, यतिबेला ती सबै केटाकेटी र उनका अभिभावकको जमातको उपस्थितिले गाउँघर रमाइलो बनेको छ ।

कमाउनका लागि भारतलगायका तेस्रो मुलुक पुगेको युवाहरु पनि दसैंका लागि घर फर्केका छन् । दशैंंमा यात्राका लागि सहज बनाउन विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जहाँबाट पर्व मनाउन हिँडेका यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन मद्दत पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजकुमार चापागाइँले बताउनुभयो ।

यसैबिच स्थानीय तहहरुले बजारमा व्यापारीहरुको मनोमानी रोक्न दैनिक जसो अनुगमन गरेका छन् । अनुगमनमा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको छ । व्यवसायीलाई सचेत गराइएको छ । जसले गर्दा चाडपर्वका समयमा व्यापारीले उपभोक्ता ठगी गर्ने काममा न्यूनीकरण भएको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

पर्वका अवसरमा शैक्षिक संस्था, सरकारी निकाय, उद्योग कलकारखाना लगायत सबै फर्म तथा संस्था विदा हुने भएकोले सबैले दसैं पर्व उल्लासका साथ मनाउन आÇनो घरपरिवार माझ पुग्ने क्रम बढेको छ ।

विगतका वर्षमा भन्दा यस वर्ष दसैंको रौनक गाउँमा देखिएको पाल्पा व्यापार संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर कार्कीले बताउनुभयो ।

चाडपर्व आएपछि छोराछोरीलाई नयाँ लुगा किन्न र खाद्यान्न व्यवस्थापन गर्नुपर्ने तानसेन ११ की विष्णु थापाले बताउनुभयो ।

पैसा भए पनि नभए पनि केटाकेटीका लागि किनमेल गर्नुपर्ने बाध्यता दसैँमा हुने उहाँको भनाइ छ ।
बजारमा देखिएको चहलपहल अनुसारको व्यापार नभएको व्यापारी तजवीर मियाले बताउनुभयो । पहिलाको दसैँमा जस्तो अहिले व्यापार नहुने उहाँको भनाइ छ ।

अर्का व्यापारी सुवास अधिकारीका अनुसार प्रविधिको प्रयोग र आर्थिक मन्दीले गर्दा व्यापारमा कमी आएको बताउनुभयो । उहाँले खरिदमै महंगो पर्ने भएको कारण बिक्री मूल्य स्वत: बढी हुने भएकोले उपभोक्ता मर्कामा परेको बताउनुभयो ।

सम्बन्धित खवर