कृषि ज्ञान केन्द्र पाल्पामा आर्थिक वर्ष ८०/८१ का लागि  ४ करोड ३७ लाख रुपैयाँ विनियोजन 

पाल्पा ।कृषि ज्ञान केन्द्र पाल्पाले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको लागि ४ करोड ३७ लाख रुपैयाँ बराबरको कार्यक्रम र बजेट ज्ञान केन्द्रकी कार्यालय प्रमुख कामना अधिकारीले सार्वजनिक गर्नुभयो ।

बजेट तथा योजना सार्वजनिक कार्यक्रममा प्रदेश सांसद पूर्व मन्त्री वीर बहादुर रानाले पाल्पाको विकास र रोजगारी कृषि कर्म बाटै सम्भव भएकोले युवालाई कृषिमा सिकाउने, टिकाउने, र बिकाउने गरी कार्यक्रमहरू बनाउनु पर्नेमा जोड दिनुभयो । १२ महिना चल्ने कृषि सडक, उत्पादन भएका कृषि उपजहरू बजारीकरण गर्नेमा स्थानीय सरकारले ध्यान दिनुपर्ने प्रदेश सांसद रानाले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले देश कृषि प्रधान भन्ने तर बजेट सबैभन्दा न्यून विनियोजन गर्ने केन्द्रीय सरकार बाट नै कृषिमा ध्यान नदिएको गुनासो गर्नुभयो। प्रदेश सांसद खेम बहादुर सारूले कृषि उत्पादन बढाउन, बजारीकरण गर्न र कृषक लाई कृषि पेसामा निरन्तर टिकाउन प्रदेश सरकार बाट गर्नुपर्ने काम कर्तव्य तथा ऐन नियम बनाउनु विषयमा सुझाव दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा उठेका गुनासा तथा जिज्ञासाहरूको जवाफ दिँदै कार्यालय प्रमुख अधिकारीले पाल्पामा उत्पादन सँगै बजारीकरण राम्रो सँग भएको, अदुवा प्रशोधनको काम निस्दी गाउँपालिकामा सुरु भएको बताउनुभयो ।

हाल १५ जना कर्मचारी दरबन्दी रहे पनि कार्यालय ३ जनाले चलाउनु परेकोले कर्मचारीहरूको चाँडो पदपूर्तिको लागी पहल गरिदिन प्रदेश सांसद लाई कार्यालय प्रमुख अधिकारीले अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले गाउँ ठाउँमा पुग्दा खेतीयोग्य जमिन दिनहुँ बाझिँदै गएको देखिने, युवाहरूलाई कृषि कर्ममा आकर्षित  गर्न नसक्दा उत्पादन घट्दै गएको बताउनुभयो ।

सम्बन्धित खवर