
पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले ३ वर्ष भित्र पालिकालाई स्थानीय बालमैत्री शासन लागु भएको पालिका घोषणा गर्ने गरी काम थालेको छ ।
पालिकाले २०८३ साल भित्र बालमैत्री शासन अभियान पूरा गर्न सरोकारवालाहरूको छलफलबाट २८ बुँदे कार्य योजना बनाइएको छ ।
स्थानीय बालमैत्री शासन लागु गर्न मुख्य गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका ५१ वटा सूचकहरू पुरा गर्नुपर्ने छ । ५१ वटा सूचकहरू पुरा गर्नको बजेट, जिम्मेवारी र समय सहितको कार्य योजना बनाएर कार्यपालिकादेखि समुदायसम्मको जिम्मेवारी तोकिएको प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताउनुभयो ।
स्थानीय बालमैत्री शासन लागु गर्न १ करोड १२ लाख २० हजार रुपैयाँ खर्च लाग्ने अनुगमन गरिएको छ । सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्री शासनका अवधारणा, संवैधानिक व्यवस्था, नीतिगत निर्णय, विद्यालयका कामहरू, बाल समूह गठन, संस्थागत संरचनाको तयारी र घोषणा प्रश्चातको दिगोपना जस्ता विषयमा सहजीकरण गरी कार्य योजना तयार गरिएको बताउनुभयो ।
बालमैत्री शासन लागु गर्न जनप्रतिनिधि, कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समिति सहित सबै सरोकारवालाले आफ्नो जिम्मेवारी अनुसारको कार्य गरेमा निर्धारित समयमै घोषणा गर्न सकिने गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले बताउनुभयो ।
बालमैत्री शासन लागु गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, पञ्जिकरण शाखा, विद्यालय बाल क्लबहरूको मुख्य जिम्मेवारी हुने छ ।
पालिका स्तरीय र वडा स्तरीय सहजकर्ता परिचालन गरेर स्थानीय बालमैत्री शासन आधारहरू तयार गरिने बालमैत्री कार्यक्रमका संयोजक सिनियर अहेव रिता कुमारी थापाले बताउनुभयो । बगनासकाली र रम्भा गाउँपालिकामा स्थानीय वालमैत्री शासन लागु भइसकेको छ ।