पाल्पा । दसैँको मुखमा अत्यधिक सवारी गुड्ने सिद्धार्थ राजमार्गका धेरै स्थान एकतर्फी छन् ।
सडक डिभिजनले समयमै मर्मत र सुधारको काम अघि बढाएको छैन । दसैँको मुखमा निर्माण व्यवसायीले सडक ढलानको काम गर्दा सवारी र यात्रुलाई थप सास्ती भएको छ ।
दोभान सिद्धबाबा खण्ड, सिसुवा, हिउँदेखोलालगायत स्थानमा सडक ढलाको काम अघि बढेको छ । जसले गर्दा सवारीसाधन दुईतर्फी गुड्न नसकेको सडक डिभिजन कार्यालयका इन्जिनियर शिव खनालले बताउनुभयो ।
राजमार्गको सिद्धबाबा, भुतखोला, सिसुवा, हिउँदेखोला, कालीमाटी, डुम्रे, पिपलडाँडालगायत स्थानमा पनि सडक एकतर्फी छ ।
सडक भासिने, पहिरो जाने भएकाले ती स्थानमा सडक एकतर्फी गरिएको सडक डिभिजनका इन्जिनियर खनालले जानकारी दिनुभयो। ‘अघिल्लो वर्षदेखिकै काम बाँकी छन्,’ उनले भने, ‘चाडपर्वका बेला सकेसम्म दोहोरो सवारी गुड्न मिल्ने गराउँछौँ ।’
इन्जिनियर खनालले भन्नुभयो जस्तो तत्काल दुईतर्फी यातायात सञ्चालन हुने अवस्था भने छैन । पाल्पा–गुल्मी सडकका ठाउँ ठाउँमा सडक बिग्रने, भत्कने, पहिरो जाने भएको छ ।
अधिकांश स्थानमा सडक बिग्रेर दुईतर्फी सवारी चल्न सक्ने अवस्था छैन । तानसेनको ढुंगाखानी, रिब्दीकोटको जोर्ते, मालमुल, लघुवा लगायतका स्थानमा सडकमा खसेको पहिरो नै पन्छाइएको छैन ।
राजमार्गमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, म्याग्दी, मुस्ताङसम्म दैनिक १० हजारभन्दा बढी ठूलासाना सवारी गुड्छन् ।