
पाल्पा । तानसेन नगरपालिका वडा नंं १४ अर्गली पाल्पामा पाँच सय वर्ष देखी एउटै नियम बाट समाज संचालन हुँदै आएको छ ।
पाँच सय वर्ष अघि मणि मुकुन्द सेन प्रथमले बनाएको नियम बाट नै पाल्पाको अर्गलीमा खेतीपातीको पानी वितरण हुँदै आएको छ । पाँच सय वर्ष अघिको नियम अर्गलीका जनताहरू लाई अहिले पनि वैज्ञानिक नियम लागेको छ ।
पाँच सय वर्ष अघिदेखि समानुपातिक र वैज्ञानिक प्रणालीबाट कुलोको पानी वितरण गर्ने नियम बनाइएको थियो । सोही नियम अनुसार नै अर्गलीमा अहिलेसम्म कुलोको पानी वितरण हुँदै आएको छ । सेन वंशीय शासन कालमा मणि मुकुन्द सेन प्रथले १६ औ शताब्दीमा पाल्पा अर्गलीमा जेठी, माइली, साइँली र कान्छी गरी चार वटा कुलो निर्माण गरी समानुपातिक रूपमा पानी वितरणको व्यवस्था मिलाएका थिए ।
नेपालको सबै भन्दा पुरानो र वैज्ञानिक तवरले निर्मित यहाँको कुलो धेरैका लागि अध्ययन अनुसन्धानको विषय पनि बनेको छ । जिल्लाका कहीँ कतै स्थानमा सिँचाइका लागि पानी वितरण सन्तुलित नभएका बखतमा आपसी झैँ–झगडा र विवाद पनि हुने गर्दछन् । तर यहाँ भने पानी वितरण प्रणाली पाँच सय वर्ष अघिदेखि समानुपातिक र वैज्ञानिक तवरले वितरण हुँदै आएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।
यहाँको कुलो राज कुलोको नामबाट समेत परिचित छ । पाल्पाको सदरमुकाम नजिकै रहेको अर्गली फाँट सिँचाइका लागि सोह्रौँ शताब्दीमा पाल्पाली सेन वंशीय मणि मुकुन्द सेन प्रथमद्वारा निर्मित कुलोको पानी वितरण प्रणाली अहिले पनि वैज्ञानिक रूपमा सञ्चालन हुँदै आएको अर्गलिका किसान देवका अधिकारीले बताउनुभयो । खेतीका लागि उर्वर मानिने अर्गली फाँटमा करिब ८ सय घर परिवारलाई कुलोको कारण बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।
सात किलो मिटरमाथि बाट चट्टाने पहाड फुटालेर चार वटा कुलो निर्माण गरी सिँचाइको व्यवस्थापन सेन वंशीय राजाले गरेका थिए । वैज्ञानिक प्रणालीबाट पानी वितरण हुने र समय समयमा मर्मत रेखदेख समेत आलो पालो प्रणालीबाट हुँदै आएको राज कुलो सिँचाइ प्रणालीका व्यवस्थापक लक्ष्मण पाण्डेले बताउनुभयो ।
आलो–पालो प्रणालीका कारण सिँचाइको बेला पालो कुरेर बस्न नपर्ने हुँदा समयको बचत हुने र कोही कसैसँग झगडा गर्नु नपर्ने यहाँका किसानको अनुभव छ । पर्याप्त सिँचाइको व्यवस्था भएको कारण अर्गलीमा १२ महिना खेतीपाती हुने गरेको छ ।
सिँचाइको लागि महत्त्वपूर्ण योगदान पुर्याउदै आएको राज कुलो पुरानो भए पनि पानी वितरण प्रणाली आधुनिक र सन्तुलित भएकाले अध्ययन अवलोकन गर्न आउनेहरू यहाँ पुग्ने गर्दछन् । देशका अधिकांश स्थानहरूमा खेतीपाती लगाउने क्रममा कुलोका विषयमा झैँ–झगडा भएका समाचारहरू आइरहेका बेला अर्गलीको राज कुलोको वितरण प्रणालीले भने सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कुलोको भरपुर प्रयोगबाट यहाँका किसानहरूले कृषि उत्पादन वृद्धि गर्दै आएका छन् । कुलोलाई थप आधुनिक र कृषकमैत्री बनाउन स्थानीय सरकार र कृषि सम्बद्ध निकायहरूले ध्यान दिन सके यहाँको कृषि पर्यटनमा थप टेवा पुग्ने देखिन्छ ।