पाल्पा । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले मानव स्वास्थ्यका लागि आयुर्वेदिक उपचार पद्धति महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आयुर्वेद पद्धतिको उपचार र औषधि सेवनले मानिसको स्वास्थ्यमा प्रभाव नपारी रोगको उपचार हुने बताउनुभयो । रामपुर आयुर्वेद अस्पताल रामपुर पाल्पाको अनुगमन गर्दै नगर प्रमुख थापाले आयुर्वेदको महत्व बुझ्न नसक्नु दुखद पक्ष भएको समेत बताउनुभयो । नगर प्रमुख थापाले आयुर्वेद अस्पतालबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै स्थानीयस्तरमा पाईने जडिबुटीलाई पनि प्राथमिकता दिएर औषधि उत्पादनका लागि ध्यान दिन आग्रह गर्दै उहाँले अस्पतालमा आवश्यक उपकरणका लागि संघीय मन्त्रालयमा प्रस्ताव पेश गरेको र स्वास्थ्य बीमा कार्यक्रम लागु गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पतालको अनुगमन पश्चात कर्मचारीहरु संगको छलफल कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले आयुर्वेदिक उपचार पद्धति र अस्पतालको प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पतालबाट हुने सेवालाई विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।
छलफलमा अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा र आवश्यकताको बारेमा जानकारी गराउँदै तत्काल आवश्यक उपकरणको व्यवस्था गरिदिन अनुरोध गर्नुभयो ।
अस्पतालबाट अहिले दैनिक करिव ४० जनाले सेवा लिंदै आएको र यो आर्थिक वर्षमा करिव १२ सय जनाले उपचार सेवा लिएको अस्पताल प्रमुख पोखेलले जानकारी दिनुभयो । अस्पतालमा अहिले पञ्चकर्म र पूर्वकर्म अन्तर्गत स्नेहन, स्वयदन, वस्ती सेवा, पाईल्सको डे«सिङ, सर्वसुलभ दरमा प्रयोगशाला सेवा, विभिन्न रोगको आयुर्वेदिक औषधि, नेपाल सरकारले निशुल्क प्रदान गर्ने २३ प्रकारका आयुर्वेदिक औषधि वितरण र आयुर्वेद चिकित्सकद्धारा दैनिक उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।