फूल खेतीमा युवाको आकर्षण 

तानसेन । पाल्पा जिल्लामा पछिल्लो समय सयपत्री फूल व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यो व्यवसायमा विशेषतः युवा आकर्षित भएका छन्।  

जिल्लाको तानसेन नगरपालिका -९ मा रहेको मदन पोखरा बहु प्राविधिक शिक्षालयको सहयोगमा  विद्यार्थीहरूले चार रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेका छन् ।

आफ्नो खर्चका लागि र कृषि पढ्दै आएका विद्यार्थीहरूले आफ्नो सीप निखारताका लागि खेती गरेको मदन पोखरा बहु प्राविधिक विद्यालयका विद्यार्थी सिजन खत्रीले बताउनुभयो ।

कृषि संकाय तर्फ अध्ययन गरेका विद्यार्थीहरूले  जिल्ला सङ्गै  देशलाइ फूलमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिक्षकहरूको सहयोगमा फुल खेती सुरु गरेको अर्का विद्यार्थी सर्वदा रासकोटीले बताउनुभयो ।

शिक्षालयका विद्यार्थी मात्र हैन पछिल्लो समय फूल खेती तर्फ जोकोही पनि आकर्षित भएको पाउन सकिन्छ । फूलको राम्रो व्यापार हुने भएपछि घरका बगैँचा देखि लिएर ठुलो क्षेत्रफलमा फूल लगाउनेको सङ्ख्या बढेको हो ।

तानसेन १० धनसार कुनामा २८ वर्षका हरि पौडेल र ५३ वर्षका रामबहादुर कुमालले पनि संयुक्त रूपमा ७ रोपनी जग्गा मा फूल लगाउनुभएको छ । वैदेशिक रोजगारीमा जानू भन्दा स्वदेशमै मिहिनेत गरे मिहिनेत अनुरूपको प्रतिफल पाइने उहाँहरूको बुझाइ छ ।

८० हजारको लगानीमा फूल लगाउनुभएका पौडेल र कुमालले ४ लाख बराबरको फूल बेच्ने अनुमान गरेको फूल खेती गर्दै आउनुभएका हरि पौडेलले बताउनुभयो । उहाँले बजारमा अत्यधिक प्लास्टिकका फुल प्रयोग खपत हुने भन्दै स्वदेशी उत्पादनमा जोड दिन सबैलाई आग्रह गर्नुभएको छ ।

तानसेन नगरपालिका सँगै पाल्पाका विभिन्न क्षेत्रमा  अहिले धेरै नागरिकहरू फूल खेती तर्फ आकर्षित  भएका छन्  । पाल्पाबाट उत्पादन हुने फुल जिल्ला सहित स्याङ्जा बुटवल भैरहवा काठमाडौँ ,पोखरा  लगायत का ठाउँमा बिक्री हुने भएपछि सबैलाई फूलले लोभाएको हो ।

फूल खेतीको व्यवसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै जिल्लाका पालिका सङ्ग समन्वय गर्ने कोसिस गरेका  छन्  । जिल्लाकै जुन सुकै कार्यक्रममा प्लास्टिक को फूलले सजाउनुभन्दा सक्कली फूलले नै सजाएमा बिक्रीका लागि अन्त पठाउनु पर्ने बाध्यता हट्ने व्यवसायिहरुको बुझाइ छ ।

पाल्पाको १० वटै  स्थानीय तहमा व्यावसायिक फूल खेती हुँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय