पाल्पा । मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिनाउ– २, दोभान, पाल्पाले आफ्नो २२ ओैं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणससभाका प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटाले समुदायमा आधारित मिलीजुली सहकारी, जनमुखी सहकारी रहेको बताउँदै आर्थिक उन्नति एवम् प्रगतिका निम्ति निरन्तर गतिशील रहेको र सहकारी सिद्धान्त अनुसार चलेको समेत उल्लेख गर्नुभयो । उहाँले यतिबेला सहकारीका बारेमा व्यापक अनर्गल प्रचार भइरहेको हुँदा सहकारीलाई ठिक तरिकाले सञ्चालन गर्न र अनुगमन गर्न समेत बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेशले पहल गरिरहेको बताउनुभयो ।
सभामा तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल, पूर्वअध्यक्षहरु पदमलाल शाक्य,राजेश श्रेष्ठ,दलबहादुर गुरुङ, शिक्षा उपसमितिका संयोजक गोपाल बस्यालले मिलीजुली सहकारी तिनाउकै नमूना तथा उत्कृष्ट सहकारी रहेको बताउनुभयो ।
सभामा सहकारीका अध्यक्ष रवीन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष रेनुका लम्सालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक अनन्त पाण्डेयले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । सभामा विभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दोभान माविका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव लालकुमार श्रेष्ठले गरेका थिए ।