
तानसेन । पाल्पाका विभिन्न पालिकाका गाउँ तथा नगरमा बजार अनुगमनलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
चाडपर्वलाई मध्यनजर गर्दै पाल्पाको रामपुर नगरपालिकाले नगर भित्रका मुख्य बजारको अनुगमन गरेको छ । नगरपालिकाले वडा नं। ५ को सानीअमराई, मटेरी र वेझाँड बजार क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ । रामपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ३७ हजार २० रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो ।
नगरपालिकाले पसल व्यवसाय दर्ता, नवीकरण भए नभएको, खाद्य सामानको म्याद भए नभएको, अन्तःशुल्क, होटेलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, नापतौल सामग्रीको मापन ठिक भए नभएको अनुगमन गरेको थियो ।