पाल्पा । बगनासकाली गाउँपालिकाले ग्रामीण सडक सुधारका लागि गाउँपालिकास्तरीय सडक सरसफाई तथा मर्मत उपभोक्ता समिति गठन गरेको छ ।
गाउँपालिकाले डेन्जिग रायमाझीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति समेत गठन गरेको हो । जसको सचिवमा मिन बहादुर राना, कोषाध्क्षय सीता देवी बस्याल रहनुभएको छ । इश्वरी बस्यालको संयोजकत्वमा अनुगमन समिति समेत गठन भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा जस्तै चाडपर्वमा नागरिकलाई आवतजावतमा सहज बनाउन आवश्यक काम गर्नका लागि उपभोक्ता समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ । वडास्तरमा सडक सरसफाई तथा मर्मत विगतमा वडाले आफ्नो तरिकाले गर्दै आएकोमा यसपटक फरक तरिकाले काम गर्ने उद्देश्यले गाउँपालिकाबाटै योजना सञ्चालन गर्नेगरी समिति गठन भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।
सडक मर्मत तथा सरसफाईका लागि आवश्यक भएको वडाका टोलटोलमा प्राविधिकहरू खटाएर कामको स्टीमेट तयार गरिएको हुँदा तत्काल वडाहरूका सडक सरसफाई गरी चाडपर्वमा यातायातका साधनहरू सबै टोलबस्तीमा पुग्न सक्ने अवस्था तयार गर्न सम्बन्धित वडाका जनप्रतिनिधि, प्राविधिक , र उपभोक्ता समितिलाई सहजीकरण गर्न अध्यक्ष चिदीले आग्रह गर्नुृभएको छ ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले नजिकिँदै गरेको विजया दशमीलाई मध्येनजर गरी सडक सरसफाई तथा मर्मत गर्न थालिएकोले सबै जनप्रतिनिधिहरु समन्वयात्मक रुपमा खट्न अनुरोध गर्नुभयो । उहाँले एक वडा एक डोजरको प्रयोग गरी काम छिटो छरितो र प्राविधिकले दिएको स्टीमेट अनुसार गर्ने आग्रह समेत गर्नुभयो ।
गाउँपालिकाले यस वर्ष सडम मर्मतका लागि प्रयोग गरिने डोजरलाई घण्टाको आधार नभई घन मिटरको आधारमा मुल्यांकन गरेर भूक्तानी दिने जनाएको छ । गाउँपालिकाका इन्जिनियर प्रमोद कुंवरले सबै वडामा गर्नुपर्ने कामको प्राविधिक स्टीमेट भैसकेको जानकारी दिनुभयो । उहाँले सोही अनुसार उपभोक्ता समितिले काम गर्नुपर्ने र जनप्रतिनिधिहरूले काम भएनभएको विषयमा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।