पाल्पा । स्थानीय तहका कर्मचारीहरूले आन्दोलनलाई सशक्त बनाएका छन् ।
अहिले देशैभर सहित पाल्पाका १० वटै पालिकाका ८१ वटा वडामा अत्यावश्यक बाहेकका सबै काम ठप्प भएका छन् ।
स्थानीय तहका कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन् ।
आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् ।
संर्घषरत कर्मचारीहरूले सङ्घीय निजामती सेवा ऐनमा समेटिनुपर्ने २० बुँदे ज्ञापन पत्रमा सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा राखिनुपर्ने,सङ्घ प्रदेश र स्थानीय (तीनै तहका) कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने,सङ्घीय कानुन बमोजिम समायोजन भएका,प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका र साबिक स्थानीय निकाय,घरेलु लगायतका कर्मचारीहरुलाई ७५३ वटै स्थानीय तहमा विना सहमति स्वचालित, अनुमानयोग्य, चक्रीय प्रणाली अनुसार हरेक दुई दुई वर्षमा प्रदेशले अन्तर प्रदेश सरुवा हुनुपर्ने बुँदा समेटिनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, तीन वटै तहमा तहगत प्रणाली लागू गरिनुपर्ने,स्थानीय तहका कर्मचारीहरूलाई सेवा प्रवेश गरे लगतै सबै पदमा अनिवार्य सेवा प्रवेश र सेवाकालीन तालिमको व्यवस्था हुनुपर्ने ऐनमै समावेश हुनुपर्ने माग कर्मचारीहरूको छ ।
उनीहरुले स्थानीय कर्मचारी हितका लागि एक कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, तीनै तहका कर्मचारीहरूलाई वृत्ति विकासको समान अवसर हुनुपर्ने बुँदा ऐनमै समेटिनुपर्ने माग राखेका छन् ।