पाल्पा । तानसेनमा सात दिने लोकल टुर गाईड तालिम सुरु भएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले तालिमले व्यक्तिमा व्यवहार परिर्वतन गर्नुका साथै सिर्जनशीलताको विकास समेत गर्ने बताउनुभयो । उहाँले तालिमका सहभागीहरुलाई सात दिनको सिकाईलाई अर्थपूर्ण बनाउन आग्रह समेत गर्नुभयो । प्रदेश सभा सदस्य रानाले पाल्पामा निजी क्षेत्रबाट पर्यटन विकासका लागि भएको कामको प्रशंसा गर्दै पर्यटनको दिगो विकासका लागि सबैपक्षसंग छलफल र समन्वय गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले पाल्पाको विकास पर्यटनबाट मात्र सम्भव भएको बताउँदै भएका पर्यटकीय क्षेत्रको संरक्षण र व्यवस्थापन, नयाँ स्थलको पहिचान र प्रचारप्रसारलाई योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाका करिव ४५ जना युवाहरुको सहभागी रहेको तालिममा लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले सैतान्तिक शिक्षा भन्दा सीपमूलक शिक्षा जीवन उपयोगी हुने बताउनुभयो । उहाँले पाल्पालार्य कृषि र पर्यटन क्षेत्रबाट समृद्ध बनाउन सकिने भएकोले यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जिल्लामा पर्यटक पस्ने र बस्ने बनाउनका लागि पर्यटन पूर्वाधारको विकास र नयाँ गन्तव्यको खोजीका ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तालिमबाट पाल्पालाई चिनाउन र बुझाउन सक्ने जनशक्ति उत्पादन हुँने भएकोले पर्यटन क्षेत्रमा केही फरक उपलब्धि हुने विश्वास राख्नुभयो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक नारदकुमार लुईटेलले प्रतिष्ठानले सीपमूलक जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो । उहाँले पाल्पाको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने गरी तालिम आयोजना गरिएको जानकारी समेत दिनुभयो । कार्यकारी निर्देशक लुईटेलले पाल्पा पर्यटन विकासको सम्भावना बोकेको जिल्ला भएपनि अहिलेसम्म पर्यटक ल्याउने ठोस योजना नहुँदा समस्या देखिएको बताउनुभयो ।
निमिक्त प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जिल्लामा एतिहासिक, सांस्कृतिक, प्राकृतिक सम्पदा भएपनि पर्यटकीय ल्याउन नसकिएको बताउनुभयो । उहाँले पाल्पा भन्दा सम्पदामा कमजोर जिल्लाले पर्यटन क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै पर्यटन विकासका विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।
होमस्टे महासंघका केन्द्रीय सदस्य धनिश्वर बस्यालले पाल्पा प्रकृति, संस्कृति र इतिहासले धनि जिल्ला रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले पर्यटन क्षेत्रमा केही काम गरेको भएपनि सरकारी क्षेत्रको मौनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको गुनासो गर्नुभयो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागीय प्रमुख अजयकुमार ढकालले पाल्पाको गौरमय इतिहासलाई जोगाउँदै अरुलाई चिनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले मुख्य पर्यटकीय गन्तव्यको छनोट गरी सुनौलीदेखि पोखरा पुग्ने पर्यटकलाई कम्तिमा एक रात जिल्लामा बस्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले पर्यटन विकासको मुख्य खम्बा टुर गाईड तालिम भएको बताउनुभयो । उहाँले सरकारले नेपालका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पाल्पा जिल्लालाई लिएपनि सम्भावना अनुसारको विकास गर्न नसकिएको बताउनुभयो ।
तालिम उद्घाटन सत्रमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिनालगायतले तालिममा सहभागीहरुले रोजगारीसंगै पाल्पाको पर्यटन प्रर्वद्धनमा सहयोगी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले पाल्पा पर्यटकीय जिल्ला भएपनि आवश्यकता अनुसारको विकास हुन नसकेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका मनोज घिमिरेको सञ्चालन, पर्यटन विकास परिषद्का प्रशासकीय अधिकृत बालकृष्ण गैरेको स्वागत तथा कार्यकारी निर्देशक रामु जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।