नेपाल उत्पीडित जातीय मुक्ति समाज तिनाउकाे विस्तारित बैठक सम्पन्न

पाल्पा । तिनाउ गाउँपालिकाकाे दाेभानमा शुक्रबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको बैठक सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि एवम् समाजका केन्द्रीय सदस्य एवम् प्रदेश सहईन्चार्ज ठाकुरप्रसाद ल्वागुनले दलित जातिकाे हक अधिकार,न्याय र समताका लागि मुक्ति समाज निरन्तर रुपमा गतिशील रहेकाे बताउनुभयो।

उहाँले अझै पनि समुदायमा दलित जातिलाई हेर्ने दृष्टिकोण, गैरदलित र दलित जातिबीचकाे सामाजिक सम्बन्धमा विभेद रहँदै आएकाे बताउँदै नेकपा एमालेकाे जनवर्गीय संगठनका रुपमा स्थापित मुक्ति समाजका मागहरुलाई पार्टीले समेत उचित सम्बाेधन गर्नुपर्नेमा जाेड दिनुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी एवम् स्कुल विभाग सदस्य दलबहादुर गुरुङले मुक्ति समाजकाे अभियानलाई तिनाउमा प्रभावकारी बनाउन पार्टीको साथ र समर्थन रहने बताउनुभयो । समाजले दलित जातिकाे उत्थान र उन्नयनका लागि प्रशिक्षित र सचेतनामुखी अभियान सञ्चालनमा गर्न उहाँले जाेड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले तिनाउ गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरी, मुक्ति समाजकी केन्द्रीय सदस्य भुमा विक,प्रेम विक,केशव सुनार ,यमबहादुर कामी लगायतले तिनाउका ६ वटै वडामा मुक्ति समाजलाई बिस्तारै गर्दै संगठित गर्ने बताउनुभएको थियो । जातीय एकता र समृद्धिका लागि मुक्ति समाजकाे क्रियाशीलता बढाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

दशै र तिहारका बीचमा घरदैलाे अभियान सञ्चालन गर्ने गरि अघि बढ्ने बैठकपछि समाजका तिनाउ अध्यक्ष रामबहादुर दर्जीले जानकारी गराउनुभयो ।

सम्बन्धित खवर