लोप हुँदै पाल्पाली करुवा

तानसेन । करुवा पाल्पा जिल्लाको पहिचान हो । जो कोहीले करुवा भन्ने बित्तिकै पाल्पालाई सम्झी हाल्छन् । पाल्पाली करुवाबाट पानी पिउँदा घाँटीको समस्या सन्चो हुने भन्ने जनविश्वास पनि रहेको छ ।  पाल्पालाई नै चिनाउने  हातले बनाएको पाल्पाली करुवा भने पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।

जिल्लाको सदरमुकाम तानसेनस्थित टक्सारटोलका उद्योगमा पर्याप्त मात्रामा उत्पादन हुने पाल्पाली करुवा पछिल्ला वर्षमा भने  कच्चापदार्थ र दक्ष कामदारको अभावमा उत्पादनमै ह्रास आउन थालेको छ । करुवा बनाउने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा र उत्पादनका लागि कच्चा पदार्थ धातु, काँच, मैन र कोइलाको अभावले उद्योग सङ्कटमा परेको उद्योगका सञ्चालक सुरेशमान बज्राचार्यले बताउनुभयो ।

२०४० साल तिर पाल्पामा करिब ३० वटा जति करुवा उद्योगहरू थिए । अहिलेसम्म आइपुग्दा त्यो सङ्ख्या घटेर २ वटामा सीमित छ  ।

विगत ४० वर्षदेखि निरन्तर करुवा बनाउँदै आउनुभएका  सुरेशमान  बज्राचार्य का अनुसार,‘पहिले २०० देखि ३०० करुवा बनाउन भ्याई नभ्याई हुन्थ्यो । हातको मेहनत पर्ने हुँदा सबैभन्दा सानो करुवाको मूल्य पनि  १ हजार ५ सयदेखि २ हजार रुपैयाँ सम्म पर्न जान्छ , त्यही करुवा आधुनिक मेशिनले बनाएका १ हजारसम्म पाइने भएकाले पनि हातले बनाएको करुवा अहिले बिस्तारै लोप हुँदै गएको  बज्राचार्यको गुनासो छ ।

करुवा घर तथा होटेलमा सजाएर राख्ने चलन छ । करुवा घरमा राख्दा आकर्षित देखिन्छ । यसै गरी करुवालाई पूजा तथा चाडपर्वहरूमा कलश को रूपमा पनि प्रयोग गरिन्छ ।हातले बनाएको पाल्पाली करुवा तयार गर्न समय लाग्छ, मिहिनेत पनि उत्तिकै पर्छ ।

करुवाको चक्र पूरा गर्न २५ देखि ३० दिन लाग्ने  करुवा कालिगड चुरा थापाले बताउनुभयो ।

तानसेनमा मेसिनद्वारा उत्पादित नेपालगन्ज, भोजपुर र पोखरेली करुवा भेटिन्छ । पाल्पाली करुवा संरक्षणका लागि नयाँ प्रविधि ल्याउने र उत्पादन बढाउन अध्ययन भइरहेको तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिंजालीले जानकारी दिनुभयो ।

पहिले ढक्कन बिनाको बन्ने करुवा अहिले बुट्टा सहितको चराको आकारमा ढक्कन गराइन्छ । पाल्पाली करुवाको आकार सिको गरेर अरू ठाउँहरूमा करुवा बनाइने गरिन्छ तर पाल्पाली करुवा बनाउन प्रयोग हुने सामाग्री र डिजाइन अरू ठाउँ मा नपाइने उद्योगीहरूको दाबी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय