
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका दश स्थानीय तहमा समन्वय बैठक गर्ने भएको छ । मंगलबार बसेको चौतारीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाको प्रमुख आतिथ्यता, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे र पाल्पा इन्चार्ज अमृता अनमोलको विशेष उपस्थितिमा बैठक बसेको हो ।
बैठकले स्थानीय तहको पार्टी नेतृत्व र प्रेस चौतारी बीचको समन्वय र सहकार्यको वातावरण निर्माण गर्न अशोज २० गते जिल्लाका स्थानीय तहमा प्रेस चौतारी र एमाले नेतृत्व बीच समन्वय बैठक गर्ने निर्णय सहित बैठकमा सहभागी सदस्यहरुको जिम्मेवारी तोक्ने काम समेत सम्पन्न गरेको छ । समन्वय बैठकका लागि निस्दी गाउँपालिकामा चौतारी उपाध्यक्ष बन्दना पोखरेल, सहसचिव धनबहादुर ठाडा र कार्यसमिति सदस्य सोभाकान्त पाठकलाई जिम्मेवारी तोकेको छ । यस्तैगरी रामपुर नगरपालिकामा केन्द्रीय अनुशासन आयोगका सदस्य किरण कौशल र जिल्ला सचिव नारायण न्यौपाने, रम्भा गाउँपालिकामा सचिवालय सदस्य दयाराज न्यौपाने र सदस्य यज्ञमूर्ति तिमिल्सिना, पूर्वखोला गाउँपालिकामा सदस्यहरु खेमराज पाण्डे र डिल्लीराज पंगेनी, बगनासकाली गाउँपालिकामा केन्द्रीय सदस्य कमलराज तिमिल्सेना र संस्थापक अध्यक्ष केशवराज नेपाल र तानसेन नगर कमिटी कोषाध्यक्ष सुमित्रा कंडेललाई जिम्मेवारी दिइएको छ ।
यस्तैगरी बैठकले माथागढी गाउँपालिकामा अध्यक्ष कृष्ण कार्की र निर्वतमान अध्यक्ष राजेन्द्र लिगल, तानसेन नगरपालिकामा प्रदेश सदस्य कृष्ण पोखरेल र सचिवालय सदस्य रीमा सोमै , रिब्दीकोट गाउँपालिकामा प्रदेश सदस्य रामप्रसाद न्यौपाने, उपाध्यक्ष सन्तोष बस्याल र सदस्य नवराज ज्ञवाली, रैनादेवी छहरामा सहसचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य भुवन रायमाझी, तिनाउ गाउँपालिकामा कोषाध्यक्ष नेत्रप्रसाद गैरे, सचिवालय सदस्य विजयकुमार बौडेल र कार्यसमिति सदस्य हरिबहादुर विकलाई जिम्मेवारी तोकिएको सचिव नारायण न्यौपानेले जानकारी दिनुभयो ।
बैठकले प्रेस चौतारीको नियमित प्रकाशन चौतारी बुलेटिनको नयाँ अंक अशोज महिना भित्र प्रकाशन गर्ने, नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम कार्तिक १ गते गर्ने निर्णय गरेको सचिव न्यौपानेले बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज तिमिल्सेनाले पार्टी र अन्य संघ, संगठनले नमुना काम गर्न प्रेस चौतारी पाल्पाबाट सिक्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय पाल्पा चौतारीले गरेको गतिविधि देशभरीका शाखाहरुले सिको गर्ने खालको भएकोले यसको निरन्तरताका लागि आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष घिमिरेले एमालेका २३ वटा जनवर्गीय संगठन मध्यको एक प्रेस चौतारी पाल्पाको क्रियाशीलता प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले सिर्जनात्मक कार्यले संगठनलाई चलायमान बनाउनुका साथै नेतृत्वकर्तालाई संस्थागत बनाउने बताउनुभयो ।
केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अनमोलले समन्वय र सहकार्यको वातावरण तयार गर्न बैठकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रेस चौतारीले राम्रो काम गर्दा पार्टीलाई फाइदा पुग्ने वताउँदै पार्टीले गरेका असल काम र विचारको प्रचारमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो केन्द्रीय समितिको निर्णय अनुसार पाल्पा जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएकी केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अनमोललाई स्वागत तथा परिचय कार्यक्रम समेत गरिएको बैठक सचिव न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।