तानसेन । पाल्पा दरबार सङ्ग्रहालय सञ्चालन गर्न समस्या देखिएको छ।
दरबार संरक्षण र सञ्चालन गर्न कर्मचारी अभाव भएको समितिले जनाएको छ । सङ्ग्रहालयका लागि माली,सरसफाइकर्मी तथा सुरक्षाकर्मी आवश्यक भए पनि यी पदमा दरबन्दी स्वीकृत भएको छैन।
लुम्बिनी प्रदेश सरकारले चालु आव २०८०।८१ मा एक जना अधिकृतसहित ६ जनाको दरबन्दी स्वीकृत गरेको छ।स्वीकृत दरबन्दीमा माली, सुरक्षाकर्मी र सरसफाइकर्मीको दरबन्दी नहुँदा दरबार सङ्ग्रहालय नियमित सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।
प्रदेश सरकारबाट स्वीकृत दरबन्दीमा माली, सरसफाइकर्मी र सुरक्षाकर्मी व्यवस्था नहुँदा सङ्ग्रहालय सञ्चालन गर्न समस्या भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।
पाँच वर्षअघि दरबार सङ्ग्रहालयमा टिकट काट्न, सरसफाइ गर्न, बगैँचा गोडमेल र रेखदेख गर्न तथा सङ्ग्रहालयभित्र रहेको नेपाली सेनाको सैनिक सङ्ग्रहालय सुरक्षाका लागि कर्मचारीको व्यवस्था गरिएको थियो। ती कर्मचारीलाई परामर्श सेवाबाट मासिक ज्यालादारीमा कामकाजमा लगाइएको छ। ती कर्मचारीलाई हटाउन प्रदेश सरकारले निर्देशन गरेपछि सङ्ग्रहालय सञ्चालन गर्न अप्ठ्यारो भएको छ।
प्रदेश सरकारबाट स्वीकृत दरबन्दी अनुसार मात्रै कर्मचारी आएमा सरसफाइ, फूलबारी सजावट, सैनिक सङ्ग्रहालय सुरक्षामा समस्या हुने जिल्लास्थित सरोकारवालाको भनाइ छ।