
पाल्पा । तिनाउ गाउँपालिकाले पशुपालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिका भित्रका विभिन्न कृषक, फर्म, समूह र सहकारीलाई ५० प्रतिशत अनुदानका लागि निवेदन आह्वान गरेको छ ।
गाउँपालिकाले कम्तीमा २ वटा दुहुना भएकालाई गोठ सुधार ४५ जनालाई, कम्तीमा १० वटा माउ बाख्रा, ३ वटा माउ बङ्गुर र ३० वटा लोकल कुखुरा भएकालाई खोर सुधार २० जनालाई, कम्तीमा ४ वटा गाईभैंसी भएकालाई गोठ निर्माण सहयोग ३ जनालाई, कम्तीमा २० वटा माउ बाख्रा वा ६ वटा माउ बङ्गुर भएकालाई खोर निर्माण सहयोग ३ जनालाई ५० प्रतिशत अनुदान दिने भएको हो ।
गाउँपालिकाले कम्तीमा ५ वटा गाईभैंसी पालेको फर्म भएकालाई गोठमा गोबर ग्यास जडान ५ जनालाई, कम्तीमा २० वटा माउ भैँसी पालन गरेको समूह /कलस्टर भएकालाई उन्नत राँगो वितरण २ वटा, कम्तीमा ४० वटा बाख्रा भएको फर्म भएकालाई उन्नत बिउ बोका वितरण ६ वटा समूहलाई अनुदान दिने गरी सूचना जारी गरेको छ ।
पालिकाले कम्तीमा ३० वटा बाख्रा वा ४ वटा गाईभैंसी भएको फर्मलाई चाप कटर २० वटा, कम्तीमा २० वटा बाख्रा भएको फर्मलाई डुँड/टाट्नो २० वटा र कम्तीमा एक वर्षदेखि व्यावसायिक रूपमा पशुपालन गरेको र कम्तीमा “ग” वर्गको कृषकलाई एक वडा एक नमुना पशु श्रोत केन्द्र स्थापना ३ वटा अनुदान दिने भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकाले इच्छुक किसानहरूले असोज ३० गतेभित्र निवेदन दिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिनुभयो ।