पाल्पा । निस्दी गाउँपालिकाको मौलाथर पञ्चेबाजा समूहले सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । निस्दी –४, मित्यालको मौलाथरमा रहेको पञ्चेबाजा समूहले विगत दश वर्षदेखि पञ्चेबाजा बजाउदै प्राप्त रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
निस्दीमा हिजोआज विवाह, भोजभतेर, मेला महोत्सव तथा विभिन्न शुभ कार्यमा प्रायः मौलाथरको पञ्चेबाजा घन्केको सुन्न पाइन्छ । गाउँपालिकाले आयोजना गर्ने विभिन्न विशेष कार्यक्रम तथा उद्घाटन समारोहमा पनि मौलाथरकै पञ्चेबाजाको प्रस्तुति रहने गरेको छ । मौलाथर गाउँमा जम्मा ४० घरधुरी परिवार बसोबास गर्दछन् । सुरुमा यहाँ परियार जातिले पञ्चेबाजाको थालनी गरेका थिए । तर, पछिल्लो समयमा परियारहरु सबै तराईतिर बसाइँसराई गरी गएका छन । हाल पञ्चेबाजा समूहमा एक जना बाहेक सबै मगर जातिका मात्रै छन । पदम बहादुर परियारले यहाँको मगरहरुलाई पञ्चेबाजा सिकाउनु भएको हो । अहिले एक्ला परियार र गाउँका अन्य मगर समुदायका युवाहरु मिलेर पञ्चेबाजा बजाउने कामलाई निरन्तरता दिँदै आएका छन ।
मौलाथरको पञ्चेबाजा निस्दी र पाल्पामा मात्रै नभएर नवलपुर जिल्लाको विभिन्न गाउँबाट समेत माग बढेको समूहका अध्यक्ष रुम बहादुर रानाले बताउनुभयो । सिजनमा धेरै ठाउँबाट माग हँुने भएकोले सबै ठाउँमा उपस्थित हुन समेत नसकिने अध्यक्ष रानाको भनाइ छ । युवाहरु पहिला पहिला गाउँभन्दा बाहिर पञ्चेबाजा लिएर जान लजाउने गर्थे, कसैले केही भन्ने डर हुन्थ्यो तर पछि बिस्तारै बानी पर्दै गएपछि सजिलो भएको अध्यक्ष रानाले बताउनुभएको छ । गाउँभन्दा बाहिर पञ्चेबाजा लैजानले समूहलाई आम्दानी प्राप्त हुन्छ । अन्त जाँदा जम्मा भएको रकम जानेहरुको खर्च कटाएर बचत रकम गाउँमै लगानी गरिने समूहका सचिव प्रदीप सोतीले बताउनुभयो ।
मौलाथर पञ्चेबाजा समूहले लगानी रकमको ब्याजबाट सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । गाउँमा बिरामी हुने, विपद्को बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आएको सचिव सोतीको भनाइ छ । साथै आगामी दिनमा विवाह, भोजभतेरका लागि आवश्यक भाँडाकुँडा समेत खरिद गर्ने समूहको योजना रहेको सचिव सोतीले जानकारी दिनुभयो ।
पञ्चेबाजाको संरक्षण र प्रोत्साहनका लागि समूहलाई निस्दी गाउँपालिकाले गतवर्ष दुई लाख रुपैयाँ अनुदान दिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । गाउँपालिकाले दिएको अनुदानबाट पञ्चेबाजाका लागि आवश्यक बाद्यवादन सामग्री खरिद गरेको समूहका सल्लाहकार तथा समाजसेवी जबर सिं सारुले बताउनुभयो । यहाँको पञ्चेबाजा समूहले मनोरञ्जन मात्रै प्रदान गरेको छैन । कला र संस्कृतिको संरक्षण गर्नुका साथै सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएको गाउँपालिकाका योजना अधिकृत अर्जुन खनालले बताउनुभयो ।