
तानसेन ।पाल्पा प्रहरीले ज्येष्ठ नागरिकको समस्या पहिचान गरेको छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तानसेन -१ भुसाल डाँडाको निलसागर मानव सेवा आश्रममा पुगी त्यहाँका ज्येष्ठ नागरिकको समस्या बुझेको हो।
ज्येष्ठ नागरिकलाई परेका समस्याको पहिचान गरी समाधान निकाल्ने कार्यमा आफूहरूले अग्रता बढाएको प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो ।
उहाँले बेसहारा बनेर आश्रममा बस्न बाध्य भएका ज्येष्ठ नागरिकहरूलाई साथ दिनु परिवार, समाज र सरोकारवाला निकायको दायित्व भएको बताउनुभयो । आश्रम बाहेक पाल्पाका अन्य स्थानमा एक्लै हिँड्ने ,टोलाउने ज्येष्ठ नागरिकको पनि समस्या पहिचान गर्ने प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यसैगरी सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले पाउने आरक्षित सिट र भाडामा पाउने छुटका बारेमा समेत अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले बताउनुभयो ।