वन समन्वय समितिको अध्यक्षमा गुरुङ

पाल्पा । सामुदायिक वन समन्वय समिति, तिनाउको अध्यक्षमा दलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । गुरुङ दाेभानमा बसेको समितिको २० ओैं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशनले गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम पाण्डेय, उपाध्यक्षमा शेरबहादुर थापा, महासचिवमा गणेश रास्कोटी, सचिवमा दिनेश जिसी, सहसचिवमा सावित्रा राना र कोषाध्यक्षमा बिनोद बस्याल रहनुभएको छ । यस्तैगरी सदस्यहरुमा माया थापा, चित्रा खाम्चा, हरिकला कुमाल, नैनाक्षेत्री, भगवती अर्घाली, नारायणी पाण्डेय, विकास अर्याल, जगबहादुर क्षेत्री, बोमबहादुर आले, भोजबहादुर छहरी, पदमबहादुर कार्की र लालकुमार श्रेष्ठ रहनुभएको नवनिर्वाचिक सचिव दिनेश जिसीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ र बुटवलबीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै वन, वातावरण र जैविक विविधता संरक्षणमा सामुदायिक वन समन्वय समितिको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले तिनाउ जलाधार संरक्षणका लागि सक्दो सहयोग र सहकार्य गरी अघि बढ्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा रहेका वनलाई समृद्धिसँग जोड्नु पर्ने बताउनुभयो । उहाँले बुटवलतर्फ बगेर जाने पानी, ढुङ्गा, गिट्टी र बालुवाबाट तल्लो तटीय क्षेत्रका स्थानीय सरकारहरुलाई तिनाउलगायत माथिल्लो क्षेत्रको वन, वातावरण र जैविक विविधता संरक्षणमा सहयोगका लागि अपील गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पदमलाल शाक्यले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित योजना तथा कार्यक्रम एवम् अनुमानित बजेट प्रस्तुत गर्नुभयो । यसका साथै गत आर्थिक वर्षभित्र सम्पादन भएका कार्यक्रमहरुको कार्य प्रगति विवरण महासचिव गणेश रास्कोटीले र संस्थाका कोषाध्यक्ष रवीन्द्र पौडेलले आयव्यय विवरण पेश गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस तिनाउका सभापति प्रेम पाण्डेय, नेकपा एमाले तिनाउका अध्यक्ष रोमबहादुर लम्तरी र नेकपा माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलगायतले सामुदायिक वनले तिनाउमा खेलेको भूमिकाका विषयमा चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तिनाउ गाउँपालिका भित्र अहिले ८४ वटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन । यी समूहको समन्वय गरेर क्षमता विकास, सीमाना व्यवस्थापन, चोरी निकासीको रोकथामका विषयमा समन्वय समिति क्रियाशील छ । नवनिर्वाचित अध्यक्ष गुरुङले तिनाउ क्षेत्रको खानी र पानीको विषयमा नतिजामुखी पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर