निस्दीमा भिडियो एक्सरे सेवा प्रभावकारी

पाल्पा । निस्दी गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा प्रभावकारी भएको जनाएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तरगत हरेक गर्भवती महिलाले २० देखि २४ हप्ता भित्र पहिलो पटक भिडियो एक्सरे गर्दा बच्चाको अवस्था पत्ता लाग्ने भएकोले सो को जानकारी लिन गर्भवती महिलाहरुलाई सहजताका लागि सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गतवर्षबाट सञ्चालनमा आएको भिडियो एक्सरे सेवाबाट तीन सय १७ जना गर्भवती महिलाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भावस्थामा रहेका आमा र बच्चाको जोखिम न्यूनिकरणका लागि नियमित भिडियो एक्सरे सेवा उपलब्ध गराएर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझन् स्वास्थ्य चौकीबाटै निशुल्क सेवा दिएको छ ।

भौगोलिक विकटता, आर्थिक अभाव र चेतनाका अभावले समयमा गर्भवती महिलाहरुले आफ्नो स्वास्थ्य परीक्षण नगर्दा आमा र बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्थाको अन्त्यका लागि भिडियो एक्सरे सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले सेवा सुरु भएपछि समय समयमा गर्भवती महिलाले आफ्नो गर्भ परीक्षण गर्दा केही समस्या देखिए तत्काल आवश्यक परामर्श तथा उपचार सेवा लिन पाएको बताउनुभयो ।

गाउँपालिका भित्र १२ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । अहिले ७ वटा स्वास्थ्य चौकीमा तालिका अनुसार गर्भवती महिलालाई भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो । जसले गर्दा सुत्केरी हुँदा आइपर्न सक्ने जटिलताको पूर्व पहिचान भएको र आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाउने अभ्यास गरिएको उहाँको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय