रिब्दीकोटलाई अदुवा पकेट क्षेत्रमा विकास गरिने

पाल्पा । रिब्दीकोट गाउँपलिकाले गाउँपालिकालाई अदुवा पकेट क्षेत्रको रूपमा विकास गर्ने जनाएको छ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको गाउँपालिकाले नागरिकको जीवनस्तरमा वृद्धि गर्ने उद्देश्यले अदुवा पकेट क्षेत्रका रुपमा विकास गर्न अन्तरक्रिया समेत गरेको छ ।
गाउँपालिकाले कारितास नेपालसंगको समन्वयमा अदुवा प्रवद्र्धन एवं साना किसान व्यवसाय सम्बन्धी अन्तरक्रिया गरेको हो । पछिल्लो समय भएको कृषि क्षेत्रको यात्रिकीरणलाई विस्तार गर्न र आधुनिक प्रविधिको प्रयोगबाट कृषि प्रणालीको विकासका लागि समन्वय गर्ने विषयमा अन्तरक्रियामा छलफल भएको थियो ।

पछिल्लो समय जिल्लामै धेरै अकबरे खुर्सानी उत्पादन गर्न सफल भएको रिब्दीकोट गाउँपालिकाले अब समय र माग अनुसार कृषकहरूलाई अदुवा प्रवद्र्धन कार्यक्रममा लगाउने गरी योजना बनाएको कृषि शाखाले जनाएको छ । लामो समय गुजाराको खेती गर्दै आएका कृषक अहिले व्यवसायिक बन्दै गएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । उहाँले वन्यजन्तुको क्षतिबाट हैरना भएका कृषकहरु खुसौनी, अदुवा वेसार खेतीमा आर्कषित रहेको बताउनुभयो । उत्पादन भएको खुर्सानी र अदुवा वन्यजन्तुले विनास नगर्ने भएकोले पनि कृषकको आम्दानी बढने अध्यक्ष कार्कीको भनाइ छ । गाउँपालिले विभिन्न सामाजिक संस्थाको सहकार्यमा कृषि, साना उद्यमी र जोखिमका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको जनाएको छ ।

अहिले गाउँघरका खेतबारीहरू माझो रहेका छन । गाउँमा खेती गर्ने जनशक्तिको अभाव छ । सीमित ठाउँमा गरिएको खेतीमा वन्यजन्तुको रजाइ छ । यही परिस्थितिमा गाउँपालिकाले बाझो रहेका जग्गाको सदुपयोग गरी अदुवा खेतीमा प्रोत्सहान गर्नसके कृषि उपज उत्पादनमा वृद्धि हुनुका साथै कृषकले आर्थिक लाभ लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

सम्बन्धित खवर