पाल्पा । रम्भा गाउँपालिकाभित्र रहेका तीनवटा सहकारीले एक वर्षमा खसीबोकाबाट पौने तीन करोडको कारोबार गरेको जनाएका छन ।
गाउँपालिकाका ३ वटा सहकारीले खसीबोका विक्री गरेर २ करोड ७२ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको वडा नं. २ को उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले १ करोड ८० लाख रुपैयाँको खसीबोका बिक्री गरेको हो । यस्तैगरी वडा नं. ३ को पिपलडाँडा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ४९ लाख ५० हजार रुपैयाँको खसीबोका विक्री गरेको जनाएको छ । वडा नं. १ को रम्भादेवी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले ३७ लाख ८० हजार रुपैयाँको खसीबोका विक्री गरेको छ ।
उपहार सामाजिक उद्यमी महिला सहकारीले १ हजार ३ सयवटा खसीबोकाको ३६ हजार केजी, पिपलडाँडा सामाजिक उद्यमी महिला सहकारी ३ सय ६० खसीबोकाको १० हजार ३ सय ३० केजी र रम्भादेवी साना किसानले २ सय ४० खसीबोकाको ८ हजार ४ सय केजी जिउँदो तौलको खसीबोका विक्री गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले सहकारीमार्फत पशुपालक कृषकलाई खसीबोकाको मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिएको छ । अध्यक्ष भण्डारीले सहकारीलाई खसीबोका संकलन तथा विक्री गरेवापत प्रतिकिलो २ रुपैयाँ र मसलन्द खर्च वापत वार्षिक एकमुष्ठ १५ हजार रुपैयाँ दिने गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाले पशुपालक कृषकहरुका लागि उत्पादनका आधारमा अनुदान दिन थालेपछि पशुपालक कृषकहरुको संख्यामा वृद्धि भएको छ । उत्पादन भएको खसीबोका पाल्पा लगायत बुटवल, पोखरा जाने गरेको छ । गाउँपालिकामा करिव १२ घरपरिवारले पशुपालनका क्षेत्रमा काम गर्दै आएका छन । अधिकांश महिलाहरुको सहभागितामा पशुपालनको काम हुनेगरेको गाउँपालिकाले जनाएको छ ।