प्रस्तुति र भाषणमै सकियो वार्षिक समीक्षा

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठी प्रस्तुति र भाषणमा सीमित रहेर सकिएको छ ।

गोष्ठी नागरिकको सेवा सुविधाको पहुँचको उपलब्धिमा भन्दा बजेट खर्चको प्रतिशतका आधारमा उपलब्धि प्रस्तुत गरेर सकिएको हो । सधैजसो वार्षिक बजेट खर्चलाई नै उपलब्धि मान्ने परम्परा यस वर्ष पनि दोहोरिएको छ । समीक्षा विगतको वर्षका असल अभ्यासको निरन्तरता र समस्या समाधनका विषयमा छलफल गरी समग्र विकासको लक्ष तय गर्नुपर्नेमा खर्चलाई उपलब्धि मानेर र भाषण गरेर सकिएको हो ।

गोष्ठीमा संघीय सांसद ठाकुरप्रसाद गैरेले संघीय साशन प्रणाली अनुसार स्थानीय सरकारले परिभाषित क्षेत्राधिकार अनुसार कार्य पूरा गर्नुपर्ने बताउनुभयो । सरकारी कार्यालयहरुले पनि निष्ठापूर्ण तरिकाले कार्य गर्छु भनेर आएको प्रतिबद्धता अनुसार कार्य नगरेमा सो कार्य पूर्ण नहुने बताउनुभयो । हामीले प्राप्त अधिकारलाई पूर्ण रुपमा कार्यान्वय भएमा मात्रै समीक्षाको मर्म पुरा हुने उहाँले भनाइ थियो ।

अर्का संघीय सांसद नारायणप्रसाद आचार्यले परम्परागत रुपले गरिएको समीक्षाले संघीयताको मर्म समेटन नसकेको बताउनुभयो । कार्यालयले आफ्नो मात्रै डम्फू बजाए जस्तो गरेर समीक्षा गर्नु बेर्थ रहेको उहाँको भनाइ थियो । सांसद आचार्यले जनताको मर्म अनुसार कार्य गर्न नसक्दा हामीहरु ठिक ठाउँमा पुग्नै नसक्ने बताउदै स्थानीय सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सरकारी कार्यालय,स्थानीय तह र जनप्रतिनिधिप्रति समाजमा वितृष्णा बढेको हुँदा सबै सुशासित र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रदेश सभा सदस्य वीरबहादुर रानाले समीक्षाको मोडल नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । समीक्षामा हाजिर हुने मात्र नभै समस्याका विषयमा छलफल गरेर विकासको स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले स्थानीय तहहरुले आन्तरिक आम्दानि बढाउनका ठोस योजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिका पहुँचमार्ग मात्रै नभएर वडासम्म पुग्ने मार्गलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले प्रस्तुत प्रगतिमा तथ्यांकहरु समावेश गर्नुपर्ने बताउनुभयो । भौतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, कृषि पशुपालनलगायतका कार्यमा भएको कामबाट कति नागरिकको जीवनस्तरमा परिवर्तन आयो सोको बारे जानकारी दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समीक्षा नभइकन प्रगति नहँुने हुँदा यो कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । समीक्षामा देखिएका गुनासो धेरै छन्, समस्या देखाएर कोही पनि उम्किन नहुने नगरप्रमुख थापाले बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीले तानसेनको फोहोर मैला व्यवस्थापन गर्नका लागि नगरपालिकाले तयारी गरेको बताउनुभयो । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले समीक्षामा उठेका प्रश्न, सल्लाह सुझावले आगामी दिनमा कार्य गर्न मार्गनिर्देश गरेको बताउनुभयो ।

समीक्षामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोलेनिकाको पनि प्रस्तुती रहेमा जिल्लाको कुल बजेटको बारेमा जानकारी हुने बताउनुभयो । उहाँले जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरु अनुपस्थित भएको बताउदै यस्ता गल्ती आगामी दिनमा नगर्न कार्यालय प्रमुखलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमाले अध्यक्ष धनेन्द्रराज घिमिरे, राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुवंर, नेकपा एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष मोहनलाल गैरेलगायतले जिल्लामा देखिएका विकास समस्या र चुनौतीका साथै कार्यालयमा भएको जनशक्ति अभाव र नीतिगत समस्या समाधानका लागि सबैले समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्याक्रममा सहभागी पत्रकारहरुले स्थानीय तह र सरकारी कार्यालयको स्पष्ट योजना विनाका कार्यक्रमले बजेट खर्च बाहेक ठोस उपलब्धि नदिएको बताएका थिए । उनीहरुले कार्यक्रमको स्थलगत अनुगमनमा तेस्रो पक्षको सहभागिता शून्य गराउने, प्रगतिको प्रस्तुति सामग्री वितरण नगर्ने अनि होटलभित्र गरिएको एकोहोरो समीक्षाले समग्र जिल्लाको विषयगत विकासमा कुनै प्रभाव नपार्ने भएकोले गम्भीर हुन सरोकारवाला पक्षलाई आग्रह गरेका थिए ।

दुई दिनसम्म चलेको गोष्ठीमा जिल्लाका दश स्थानीय तहसहित ३१ वटा कार्यालयकोे सामान्य आयव्ययको प्रगति प्रस्तुत गरेका थिए । गोष्ठी जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशीका गैरेको स्वागत तथा प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको हो ।

सम्बन्धित खवर