पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा सुरु भएको छ ।
बुधबारसम्म चल्ने गोष्ठीको पहिलो दिन जिल्लाका दश स्थानीय तह र नेपाल टेलिकम, सुन्तलाजात फलफूल विकास केन्द्र, नेपाल विद्युत प्राधिकरण, सामाजिक विकास डिभिजन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गत वर्ष सम्पादन गरेको कार्यप्रगति प्रस्तुत सकेका छन । भोली १५ गते कार्यालयको प्रस्तुति रहने समन्वय प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो ।
गोष्ठी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता र संघीय सांसद ठाकुरप्रसाद गैरे, नारायणप्रसाद आचार्य, राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रदेश सभा सदस्य बीरबहादुर राना, राजुप्रसाद श्रेष्ठ र खेमबहादुर सारु, पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थितिमा चलेको छ ।
गोष्ठीमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले स्रोत र साधन अनुसार सम्पादन भएका कार्य प्रगति सन्तोषजनक भएको बताउनुभयो । उहाँले स्थानीय तह बलियो र जनताको चाहना अनुसार काम गर्न आन्तरिक स्रोत बढाउनुपर्ने बताउनुभयो । सभामुख घर्तीमगरले सधैभरी संघ र प्रदेशबाट बजेट स्थानीय तहमा नआउने बताउँदै जनताको अपेक्षा अनुसार काम गर्न आन्तरिक आम्दानी बढाउनेतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरेले ऐन, नीति, नियम र विधिमा चल्दा राम्रो हुने बताउनुभयो । उहाँले हाम्रा गतिविधिले अहिलेको व्यवस्था प्रति नै जनताको नकरात्मक भाव आउने वातावरण नबनाउन आग्रह गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गरेर जनतालाई अनुभूती हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.कले समग्र विकासको गुरु योजना तयार गरेर अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो । स्थानीयस्तरमा स्रोतको पहिचान गरेर उत्पादनसंग जोड्न आग्रह गर्नुभयो । यसका साथै संयोजक विकले प्रशासनिक खर्च भन्दा विकास बजेटको खर्चमा वृद्धि गर्नुपर्ने बताउनुभयो । राप्रपाका अध्यक्ष डुलबहादुर कुवंरले ग्रामीण भेगमा वन्यजन्तुको आतंकले समस्या खेप्नुपरेको विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
जन्नमोर्चाका अध्यक्ष विशाल दर्लामीले गोष्ठीमा प्रस्तुत भएका प्रगतिहरु राम्रो भएको बताउनुभयो । उहाँले प्रस्तुतिमा जनशक्ति अभाव, समन्वय अभावलगायतका समस्या देखिएकोले समाधानमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व जिविस सभापति झपेन्द्र जिसीले स्थानीयस्तरका जनप्रतिनिधि र कर्मचारीको क्षमताको अधिकतम प्रयोग गरेर जनताको हितमा लगाउनुपर्ने बताउनुभयो । उहाँले वडास्तरमा बजेट विनियोजन गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सम्भावनाको अध्ययन गरेर नतिजाका आधारमा मिनरल वाटर, जडिबुटी, र प्रर्यटन उद्योगलगायतका विषयमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।
तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याल संघीयताको आधारभूत केन्द्रको विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार जनताले स्थानीय सरकारको व्यवहारीकताको प्रस्तुति नआएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले स्थानीय सरकारको वार्षिक प्रगति सरकारको जस्तो नभएको बताउनुभयो । उहाँले बजेट खर्च गर्दा भएका गतिविधि बाहेक ठोस उपलब्धी प्रस्तुतिमा समेटिन नसकेको बताउनुभयो । स्थानीय तहले सम्पादन गरेका योजना तथा कार्यक्रमको तेस्रो पक्ष अनुगमन नहुँदा समस्या देखिएको बताउँदै यस तर्फ गम्भीर हुन अध्यक्ष रानाले आग्रह गर्नुभयो । उहाँले काम गर्दा मिडियामैत्री भएर काम गर्न सुझाव राख्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति भगवान भण्डारीले पालिकाबाट भएका गतिविधि प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा समस्या देखिएकोले सुधारको खाँचो भएको बताउनुभयो । पूर्व अध्यक्ष भण्डारीले सूचनाको हक कमजोर भएका कारण समानुपातिक विज्ञापन वितरण समान रुपमा हुन नसकेकोले यसको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
गोष्ठी जिल्ला समन्वय समिति उपप्रमुख काशीका गैरेको स्वागत र प्रमुख टंकनाथ खनालको अध्यक्षतामा चलेको हो ।