भेटेरिनरीको बजेट तथा कार्यक्रम सार्वजनिक

पाल्पा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिकीकरण कार्यक्रममा केन्द्रका पशु चिकित्सक नविन बस्यालले गत आर्थिक वर्षमा कार्यालयले सम्पादन गरेको कार्य प्रगति सहित यस वर्ष गरिने कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाँले यस आर्थिक वर्षमा पूँजीगततर्फ १३ लाख र चालुतफ ६ करोड १४ लाख २० हजार बजेट तथा कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पशु चिकित्सक बस्यालले कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि १ करोड ३ लाख, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि १ करोड ६१ लाख ९९ हजार, मत्स्य विकास कार्याक्रमका लागि ५९ लाख २ हजार बजेट आएको बताउनुभयो । यसका साथै पशुपंक्षी विकास तथा पशु स्वास्थ्य नियमनका लागि २४ लाख ९१ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत नयाँ ब्लक विकास कार्यक्रमका लागि ४५ लाख, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका लागि १ करोड १४ लाख ७४ हजार र पशु सेवा विभाग संघीय शर्सत अनुदानमार्फत खोप अभियानका लागि २ लाख ७० हजार बजेट रहेको सूचना अधिकारी समेत रहनुभएका पशु चिकित्सक बस्यालले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जिल्लालाई कृषि र पर्यटन विकासबाट समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सभा सदस्यहरुको भूमिका नीति निर्माण तहमा हुने तर बजेट कार्यान्वयमा नहुँने समेत जानकारी गराउनुभयो । सभामुख घर्तीमगरले अहिले जनताको विकासका लागि प्रदेश सरकारले ठूलो बजेट लगानी गरिरहेकोले कृषकको जीवनस्तर उठाउने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले स्मार्ट कृषि गाउँ कार्यक्रमले धेरै कृषिकलाई स्वरोजगार बनाएकोले सम्भावना अनुसार सबै वडामा यो कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सभा सदस्य वीरबहादुर रानाले कार्यक्रम र बजेट सक्ने भन्दा वास्तविक कृषकहरुको जीवनशैली परिर्वतन हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले पहाडी जिल्ला भएकोले आम्दानीका लागि अन्य ठूला उद्योग सञ्चालनको सम्भावना नभएकोले कृषि र पशुपालनबाट आर्थिक आर्यआर्जनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य खेमबहादुर सारुले समय अनुसार कृषि तथा पशुपालनका क्षेत्रका कृषकहरु स्वरोजगार बन्दै गएको बताउनुभयो । उहाँले अनुदान मात्र वितरण गर्ने भन्दा पनि उनीहरुलाई उद्यमशीलतामा जोडनुपर्ने बताउनुभयो ।

यस्तैगरी रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले गत वर्षको प्रगति र चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थानीयस्तरमा अनुदान वितरण प्रक्रियामा समस्या भएका कारण वास्तविक कृषक तयार गर्न नसकिएको बताउनुभयोे । उहाँले तीन तहका सहरकार बीच समन्वयको अवस्था कमजोर रहेकोले अगामी दिनमा समन्वयात्मक रुपमा कृषि र पशुपालनको क्षेत्रगत सम्भावनाको अध्ययन गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाकी प्रतिनिधि दुर्गादेवी भण्डारी, सिताकुण्ड दुध उत्पादक सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष कृष्ण पाण्डे, सचिव विनोद श्रेष्ठ, चिनारी दुध उत्पादक सहकारी संस्थाका टिकाराम रेश्मी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, रोयल ताज एग्रो फार्म प्रालिका सञ्चालक मुक्तिराम जिसीलगायतले सरकारको अनुदान खास कृषकसम्म अझै पनि पुग्न नसकेको बताउनुभयो । उहाँहरुले जिल्लामा एउटा दाना उद्योग समेत नभएकोले यसतर्फ ध्यान सबैको जानुपर्नेमा जोड दिनुभयो । यसका साथै लम्पि स्कीन रोगले कृषकहरुलाई थप मर्कामा पारेको बताउनुभयो । उहाँहरुले कृषकहरुले पशु बीमा गरेको भएपनि बीमा कम्पनीले रकम नदिँदा थप समस्या भएकोले सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

केन्द्रका कार्यालयका निमित्त प्रमुख दुर्गा खनालले कार्यालयबाट उपलब्ध स्रोत र साधनको प्रयोगले अधिकतम पशु पालक कृषिहरुको अवस्था परिर्वतन हुनेगरी काम गरेको बताउनुभयो । उहाँले आवश्यक सहयोग, सहजीकरणका लागि आफूहरु तयार रहेकोले बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहने बताउनुभयो ।

सम्बन्धित खवर