
पाल्पा ग्याँस डिलर्स संघको अध्यक्षयमा पर्सुराम पोड्याल चयन हुनुभएको छ । संघको पाँचौ अधिवेशन तथा साधारण सभाले पौडयालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन भएको नेतृत्वको उपाध्यक्षमा मञ्जु रेग्मी, सचिवमा अजयबहादुर श्रेष्ठ, कोषाध्यक्षमा उमेशराज शाक्य र सह–सचिवमा विष्णु जि.सी. रहनुभएको छ । यस्तैगरी कार्यसमिति सस्यमा रामबहादुर श्रेष्ठ, जालबहादुर खाती, राजेश प्रसाद श्रेष्ठ, भुपेन्द्र के.सी., भरत ढुङ्गाना र राजेन्द्र अग्रहरी रहनुभएको संघले जनाएको छ ।
यस्तै संघको बरिष्ठ सल्लाहकारमा कमल ढकाल, बसन्त श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्य चयन हुन्ुभएको नव निर्वाचित अध्यक्ष पौडयालले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले ग्याँस विक्रेता व्यवसायीहरुलाई उपभोक्ता मैत्री भएर काम गर्न अनुरोध गर्नुभयो । उहाँले राज्यबाट पाउनु पर्ने अधिकार सुनिश्चित गर्न स्थानीय सरकारकबाट पूर्ण रुपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल लागु रहेको ग्याँस लोड अनलोडको टाइम कार्डको समय बढाउन प्रहरी, प्रशासन र संघसँंग नगरपालिकाले आवश्यक सहजीकरण गर्ने उप प्रमुख सिंजालीले बताउनुभयो ।
कार्यक्रममा ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष चन्द्र थापाले ग्याँस विक्रेता संघ तथा व्यवसायीलाई छलेर ग्याँस उद्योगीहरुले आफूखुसी विक्री गर्ने अवस्था आएमा देशभरीका ग्याँस व्यवसायीहरु आन्दोलनमा उत्रिने पर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने बताउनुभयो । उहाँले हाल केही ग्याँस उद्योगहरुले ५० किलो देखि ४ सय किलोसम्मका सिलिण्डर आफै विक्री गर्दै आएका प्रति लक्षित गर्दै संघका अध्यक्ष थापाले आन्दोलनको चेतावनी समेत दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पाल्पामा लागु भएको टाइम कार्ड ग्याँस विक्रेताहरुको हकमा आपसी छलफलबाट परिर्वतन गर्न सकिने बताउनुभयो । ग्याँस उद्योगी, व्यसायीहरुले उपभोक्ता सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद गैरेले ग्याँसको कारोबार दिनहुँ घट्दै गएकोले व्यवसाय सञ्चालन गर्न कठिनाई भइरहेको बताउनुभयो । करदाता सेवा कार्यालय पाल्पा प्रमुख विमला महतले राज्यले ग्याँस विक्रेताहरुलाई अन्य व्यवसायीलाई भन्दा आयकरमा छुट दिएको बताउनुभयो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, रुपन्देही ग्याँस विक्रेता संघका अध्यक्ष प्रदिप पन्त, सिद्धार्थ ग्याँस उद्योगका व्यवस्थापक शुसिल नेपाल, उपभोक्ता मञ्च पाल्पाका सचिव जीवलाल सुवेदीलगायतले ग्याँसको प्रयोग, सुरक्षा, जोखिमका विषयमा सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम उपाध्यक्ष पर्सुराम पौड्याललको स्वागत, सचिव अजय बहादुर श्रेष्ठको सञ्चालन तथा संघका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यको अध्यक्षतामा चलेको थियो ।