प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न

पाल्पा । तानसेन नगरपालिका भित्र क्रियाशील नेपाल रेडक्रस सोसाइटीका चार वटा उपशाखाको आयोजनामा नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । तानसनमा रहेका श्रीनगर उपशाखा, भीम भैरव उपशाखा, गौतमबुद्ध उपशाखा र मणिमुकुन्द उपशाखाका युवाहरुको सहभागितामा गोष्ठी चलेको हो ।

कार्यक्रममा नेपाल रेडक्रसका राष्ट्रिय प्रशिक्षक प्रेमलाल उदासले २०२७ सालमा जिल्ला शाखाको स्थापना हुँदा जिल्लाभरी विभिन्न किसिमका रोगहरुको संक्रमणले फैलिएको बताउनुभयो । उहाँले त्यो समयमा आफू स्वयंसेवकको रुपमा काम गरेको स्मरण गर्दै सामाजिक सेवाका लागि उपशाखालाई सक्रिय बनाउन युवा र जुनियरको ठूलो भूमिका रहने बताउनुभयो ।

गोष्ठीमा शाखा सभापति बाबुराम कार्कीले रेडक्रसको आधार स्तम्भ युवा र जुनियर रेडक्रस सर्कल भएको बताउनुभयो । उहाँले पाल्पामा रहेका उपशाखाहरुको र युवारुको क्षमता विकास गर्दै लैजाने लक्ष्य रेडक्रसको रहेको जानकारी गराउनुभयो । रक्तदान सचेतना तथ रक्तसमूह पहिचानको कार्यक्रममा सबै उपशाखाहरुले सक्रियताका साथ अगाडि बढाउन पनि सभापति कार्कीले आग्रह गर्नुभयो ।

कार्यक्रममा निवर्तमान सभापति बुद्धिप्रसाद शर्माले नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले थुप्रै चुनौतिका बीच पनि आपत विपद्मा आफ्नो सेवा प्रवाह जारी राखेको उल्लेख गर्नु भयो । उहाँले शाखालाई सवल बनाउन सबैको सहयोग आवश्यक भएको धारणा राख्दै विपद्मा सेवा गर्न सधै युवा शक्ति अग्रभागमा हुनुपर्ने बताउनुभयो ।

गोष्ठीमा सहभागिहरुको तर्फबाट शिक्षक नायक युवराज पंगेनीले सिकाइ उपलब्धीको शुभकामना दिनुभयो । कोषाध्यक्ष संजित थापाको संचालन, मणिमुकुन्द उप शाखाको सभापति शकुन्तला बज्राचार्यले स्वागत तथा श्रीनगर उपशाखाका सभापति पुष्करराज रेग्मीको सभापतित्व चलेको गोष्ठीमा सर्कल, शिक्षक नायक र युरेस गरी ११२ जनाको सहभागि रहेको थियो । गोष्ठीमा रेडक्रस अभियान, सात सिद्धान्त, उपशाखा गतिविधि, प्राथमिक उपचार सिमुलेसन, युजुरेस परिचालन, कार्ययोजना तयलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

सम्बन्धित खवर