धान खेतीमा देखिन थाल्यो फड्के किराको प्रकोप 

तानसेन । पाल्पाको माथागढी गाउँपालिका २ मान्केका कृषक लक्ष्मण पोखरेलले लगाउनुभएको धान खेतीमा फड्के किराको प्रकोप देखिएको छ ।

उहाँले ७ रोपनी क्षेत्रफलमा मलेसियन जातको धान लगाउनुभएको छ । करिब करिब एक रोपनीमा  फड्के किराको कारणले धान खेतीनै सुकेको पोखरेलले बताउनुभयो । धानमा अलिअलि बाला लाग्न नपाउँदै  किराको प्रकोपले खेती परालमा परिणत भएको छ ।  रोपेको करिब सय दिनसम्म राम्रै रहेको धानका केही बोटमा भदौको मध्य सातातिर किराले असर गर्न थालेपछि पोखरेलले कृषि प्राविधिकलाई जानकारी गराउनुभएको थियो ।

माथागढी गाउँपालिकाका कृषि  प्राविधिकहरू खेतमै गएर अनुगमन गर्दा फड्के किराको प्रकोप देखिएको माथागढी गाउँपालिकाका कृषि अधिकृत गौतम थापाले बताउनुभयो । फड्के किराको प्रकोपले धानको बोटमा दाना नलागी पराल बन्ने र बिरुवा मर्ने हुँदा धानबालिमा पानीको सतह  बढाउने घटाउने र सुकाउनको लागी सल्लाह दिनुभएको छ । यस्तै उहाँले कृषकहरूलाई धानखेतीमा मा निमजन्य विषादी, दैहिक विषादी र नाइटिनपाइरम विषादीको मात्रा मिलाएर गाज भिज्ने गरी छर्कन आग्रह गर्नु भएको छ । 

माथागढी गाउँपालिकाका विभिन्न वडामा देखा परेको फड्के किराको प्रकोप जिल्लामा पहिलो पटक देखा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । माथागढी बाहेक अन्य पालिकाबाट भने फड्के किराको प्रकोपको जानकारी नआएको कृषि ज्ञान केन्द्रका प्रमुख कामना भट्टराईले  बताउनुभयो । उहाँले यदि कुनै पनि कृषकको धानखेतीमा समस्या आइहालेमा तुरुन्तै प्राविधिकहरूलाई जानकारी गराउन समेत कृषकहरूलाई आग्रह गर्नुभएको छ । फड्के किरा धान बाली पसाउने बेलामा बढी मात्रामा देखा पर्ने हुँदा कृषकले अबका दिनमा बढी सावधानी अपनाउनुपर्ने अवस्था रहेको भट्टराईले बताउनुभयो ।

पाल्पामा कुल ५७ हजार एक सय ७२ हेक्टर खेतीयोग्य जमिन मध्य आठ हजार दुई सय ६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय