
तानसेन । पाल्पाको समृद्धिसँग जोडिएको सिद्धार्थ राजमार्ग अन्तरगतको वैकल्पिक सडक खण्डको काम बालुवामा पानी खन्याएजस्तै भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका झुम्सादेखि बुटवल उप नगरपालिकाको चरङ्गे जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ देखि निर्माण कार्य सुरु गरेको सडक खण्डमा लगानी व्यर्थ हुँदा बालुवामा पानी खन्याए जस्तै भएको हो ।
जोखिमयुक्त सडकको विकल्प भन्दै लुम्बिनी प्रदेश सरकारले नयाँ सडक निमार्णका लागि लगानी गरेको थियो । तत्कालीन सरकारका मन्त्रीले सडक उद्घाटन गरे पनि हाल सम्म न सडकको स्तरोन्नति हुन सकेको छ न त यस सडकमा गाडी गुड्न सक्ने अवस्था छ । सडक निर्माणको कार्य आरम्भ भएपछि पहिरोको उच्च जोखिम सँगै वन विनाशको पनि क्रम बढेको स्थानीय टेक बहादुर नेपालीले बताउनुभयो ।
उहाँका अनुसार सडक निर्माण गर्दा ठुला ठुला मेसिनको प्रयोगका कारण जमिनको तल्लो भाग खलबलिएको, सधैँका लागि बाढी, पहिरोका कारण क्षति हुँदै गएको छ । सडकका कारण दर्जनौँ स्थानमा पहिरो गएको र ठुला ठुला रुखहरू ढलेका छन् । पहिरोका कारण जमिनको क्षति बढ्दै गएको स्थानीयहरूको दाबी रहेको छ ।
सडक कार्यालयका प्राविधिकका अनुसार यो सडक त प्राविधिकहरूका लागि टाउको दुखाईको विषय नै भएको छ । भूगर्भविद्का अनुसार सफल हुने योजना नै होइन । त्यसैमाथि सरकारले बजेट कम मात्रामा विनियोजन गर्दा पनि समस्या परेको हो । दर्जनौँ स्थानमा पहिरो गएको छ कति ठाउँमा त पहिरो हटाउनै समस्या छ । “पहिरोलाई तलबाट हटाउँदा माथिबाट झर्ने सम्भावना उत्तिकै छ । एक पटक पहिरो हटाएको ठाउँमा फेरि झर्छ । समस्या यस्तो भएको कारण असफल भएको प्राविधिकले बताएका छन् ।
यस सडकको कुल लम्बाई २१ किलोमिटर पर्दछ । झुम्सादेखि रुपन्देहीको सिमाना चौकीभज्याङ सम्म कालोपत्रे, ग्राभेल खोलामा, मोटरे बल पुल निर्माण, कल्भर्ट निर्माणको कार्य पूरा भएको सडक कार्यालयका प्रमुख अरुण गुप्ताले बताउनुभयो । उहाँका अनुसार यस सडक खण्डमा हाल सम्म २० करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।