पाल्पा । सडक दुर्घटना न्यूनीकरणका लागि तिनाउ गाउँपालिकाका व्यवसायी र प्रहरीबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकि दोभानको आयोजनामा भएको छलफल कार्यक्रममा तिनाउ गाउँपालिका भित्रका टिप्पर व्यवसायीहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहज ट्राफिक व्यवस्थापन र सुरक्षित यात्राका विषयका छलफल भएको दोभान प्रहरी चौकीका प्रमुख कमल थापा मगरले जानकारी दिनुभयो ।
छलफलबाट चुनढुङ्गा ढुवानी गर्ने टिप्परबाट हुने दुर्घटनालाई न्यूनीकरणका लागि एक हप्ते संयुक्त चेकिङ गर्ने, चालक र सहचालकलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी गराउने निर्णय भएको छ । यसका साथै व्यवसायीहरुले चुनढुङ्गा खानीमा लोड गर्न बास बस्ने पुग्ने टिप्पर चालक, सहचालकलाई र होटेल व्यवसायीका साथै स्थानीयसँग आवश्यक छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन ।
कार्यक्रममा तिनाउ टिप्पर व्यवासायी समितिका अध्यक्ष अरबिन्द पाण्डेयलगायतका व्यवसायीहरुले दुर्घटना न्यूनीकरण सम्बन्धी आवश्यक सुझाब तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो । यसैगरी व्यवसायीहरु कृष्ण पाण्डेय, दुर्गा थापा, तोया लम्सालले सडक दुर्घटना कम गर्नका लागि गर्नुपर्ने कामका विषयमा सुझाब राख्नुभएको थियो ।
हाल तिनाउ गाउँपालिकामा करिव ३ सय बढी टिप्पर सञ्चालनमा रहेका छन । गाउँपालिका भित्र ६ वटा चुनढुङ्गा खानीबाट उत्खनन् हुर्दै आएको छ । उत्खनन् गरी चुनढुङ्गा रुपन्देही तथा नवलपरासीका विभिन्न सिमेन्ट उद्योगहरुमा ढुवानी हुने गर्दछ । ढुवानी गर्दा टिप्परहरुले ओभरलोड बोक्ने, छिटो पुग्न तीव्र गतिमा टिप्पर चलाउने गर्दा सडकको अवस्था बिग्रनुका साथै दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।