
तानसेन । पाल्पाका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौँमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।
शिक्षकहरू आन्दोलनमा उत्रिएका कारण पाल्पाका ४४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६० हजार ६३ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले बुधवार देखी प्रस्तावित शिक्षा विधेयक विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् । शिक्षकहरूले आन्दोलनलाई समर्थन जनाउँदै विद्यालय नखुलाएपछि पाल्पामा समेत पठनपाठन प्रभावित बनेको हो ।