
तानसेन । पाल्पा जिल्ला अस्पतालमा जग्गाको अभावका कारण सेवा थप गर्न समस्या भएको छ ।
जिल्ला अस्पतालले तिन वर्ष देखी जग्गा खोज्ने कार्य जारी गरेपनि कतैबाट जग्गा प्राप्त हुन नसकेको जनाएको छ । लुम्बिनी प्रदेश सरकारले ५० शैयाकाे अस्पताल बनाउने घोषणा गरेपनि जग्गाकै कारण घोषणाको समेट टुङ्गो लागेको छैन ।
एक सय वर्ष पुरानो भवनमा ५० शैयाकाे भवन बनाउने कुरा भएन नयाँ भवन निर्माण गर्न अस्पतालको पर्याप्त जग्गा नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारले हरेक वर्ष विनियोजन गर्ने बजेट पनि फिर्ता हुने गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा अस्पतालको नयाँ भवन निर्माणका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जग्गा परिपुर्ति नहुँदा टेन्डर पक्रिया अगाडि बढाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिले नजिकै रहेको मोहोनकन्या माविको जग्गा सट्ठीपट्टि गर्ने प्रक्रिया अघि बढाए पनि मन्त्रीपरिषद्बाट निर्णय हुन नसकेको जनाएको छ ।
एकातिर मन्त्रिपरिषद्बाट निर्णय नआउनु ,अर्कोतिर यो वर्ष पनि विनियोजित बजेटको सदुपयोग नहोला भन्ने डरले पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिले जग्गा मिलाउनका लागि तानसेन नगरपालिकालाई आग्रह गरेको समितिका सदस्य शशी श्रेष्ठले बताउनुभयो । उहाँले नगरपालिकाले छलफल गरेर आफूहरूलाई छिट्टै नै जानकारी गराउने करुवा अनलाइन सँगको संवादमा बताउनुभयो ।
हाल अस्पतालसँग सात रोपनीभन्दा बढी जग्गा छ। नयाँ अस्पतालको भवन बनाउन कम्तीमा १२ रोपनी जग्गा आवश्यक पर्ने अस्पतालले जनाएको छ। नयाँ भवन बन्न नसक्दा जीर्ण बनेको सय वर्ष पुरानो भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन्। हाल अस्पतालमा १५ शैया मात्र सञ्चालनमा छ ।