तानसेन। पाल्पाका विभिन्न १० ठेक्काको जिम्मेवारी प्राप्त गरी समयमा काम नसकेका ८ निर्माण व्यवसायीको सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेको छ ।
ठेक्का लिएर दश वर्ष पुग्दासमेत योजनाका काम पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छाडेका ठेक्काको सम्झौता तोड्ने प्रक्रियामा सडक डिभिजन कार्यालय पाल्पाले प्रक्रिया अगाडि बढाएको हो । पटक पटकको ताकेतामा पनि तोकिएको समय सीमा भित्र कार्य सम्पन्न नगरेकाले निर्माण व्यवसायीसँग सम्झौता तोडेर धरौटी जफत गरी कालो सूचीमा राख्ने प्रक्रियाको काम तीव्र रूपमा भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
लामो समयसम्म योजनाको काम पूरा नगरेका निर्माण व्यवसायीहरूको ठेक्का रद्द गर्नका लागि आवश्यक प्रक्रिया सकेर विभागीय सहमतिका लागि पठाएको र सो सहमति आउने क्रममा रहेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार विभागीय सहमति आउन साथ निर्माण व्यवसायीको बैङ्क जमानत रोक्काका लागि पत्राचार गरिने बताउनुभयो । यससँगै सम्बन्धित निर्माण व्यवसायीसँग ठेक्काको सम्झौता रद्द गरिएको सूचना जारी गरेर सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँलाई पत्राचार गरिने कार्यालय प्रमुख निरौलाको भनाइ छ ।
ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने कान्छाराम जयवावा गोरखा जेभी काठमाडौँ, कोसी एण्ड न्यौपाने ओम साई कन्ट्रक्सन जेभी काठमाडौँको ठेक्का रद्द हुने छ । पटक पटक म्याद थपे पनि सम्झौता अवधिमा समेत काम पूरा नगर्दा माडी फाँट वरिपरिका चार गाउँपालिकाका बासिन्दा सहज यातायातको सुविधाबाट वञ्चित भएको तानसेन नगरपालिकाका वडा नं। ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।
यस्तै सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको जरे पिपल खण्ड, आर्यभञ्ज्याड्ड रामपुर सडक खण्ड र तानसेन बुटवल सडक खण्डको डुम्रे क्षेत्रमा मर्मतका लागि जयरक्तकाली कन्ट्रक्सन प्रालि, नुवाकोट, आर्यभञ्ज्याड्ड रामपुर सडक खण्डमा मर्मतका लागि उदय कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी पाल्पा, रिडी तम्घास क्षेत्रमा सडक मर्मतको जिम्मेवारी लिएको रिदम कन्ट्रक्सन बुटवल रुपन्देही, झुम्सा राम्दी सडक खण्ड मर्मतको जिम्मा लिएको नमुना कन्ट्रक्सन खिम्ती प्राली रामेछाप, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको झुम्सा क्षेत्रमा मर्मत सम्भारका लागि जिम्मा पाएको चण्डी निर्माण सेवा सिद्धार्थनगर रुपन्देही, कालीगण्डकी नदीमा गुल्मी रिडी र स्याङ्जा चण्डीभञ्ज्याड्ड जोड्ने स्टिल ट्रस पुल निर्माणको ठेक्का सम्झौता गरेको श्री स्वच्छन्द निर्माण सेवा नागार्जुन काठमाडौँको पनि समयमा काम नगरेकोले सम्झौता रद्द गर्ने प्रक्रियामा अगाडि बढेको हो ।
एउटै निर्माण व्यवसायीलाई सरकारले धेरै ठेक्का दिने, राजनीतिक दलको पहुँचको आधारमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न नसक्ने, सार्वजनिक खरिद ऐन व्यवहारिक नभएका कारण पनि योजनाका कामहरू समयमा सम्पन्न नभएको सरकारवालाहरूको भनाइ छ । जसका कारण नागरिकले वर्षौँदेखि विकास निर्माणको काम भइरहेको क्षेत्रमा ठेकेदारले काम अलपत्र अवस्थामा छाड्दा सास्ती खेप्दै आएका छन् ।
लामो समयसम्म ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीहरूलाई नसियत दिन पनि ठेक्का सम्झौता रद्द गर्नुपरेको कार्यालय प्रमुख निरौलाले बताउनुभयो । उहाँले रद्द प्रक्रिया छिटो सम्पन्न गरी अलपत्र अवस्थामा रहेका ठेक्काको काम नयाँ ढङ्गबाट सम्पन्न गर्न बजेटको सुनिश्चिता गरेर सहज रूपमा काम गर्ने वातावरण तयार गरिने बताउनुभयो ।