पाल्पा । संविधान दिवस, २०८० का अवसरमा पाल्पामा परिसंवाद कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाले परिसंवाद कार्यक्रम आयोजना गरी औपचारीक रुपमा दिवस मनाएको छ । यसका साथै देशभर जस्तै पाल्पाका सरकारी तथा निजी कार्यालय, राजनीतिक दल, नागरिक समाज, विभिन्न समाजिक संघ संस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले संविधान दिवसको उपलक्ष्यमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालको संविधान जारी भएको ऐतिहासिक दिन संविधानको रक्षा र कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समृद्धि, सामाजिक न्याय र समावाद प्राप्तिको दिशामा अविचलित भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । सांसद गैरेले सामाजिक सद्भाव र राष्ट्रीय एकताको पक्षमा हरेक नागरिकले योगदान गर्ने संकल्प दिवसका अवसरमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, प्रदेश सभा सदस्य वीरबहादुर राना र खेमबहादुर सारु, संविधान सभा सदस्य नारायणी शर्मा घिमिरे, लिला सोमै, तुल्सा राना, नेपाली कांग्रेस पाल्पाका प्रवक्ता सोभाखर न्यौपाने, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विक,रास्वपाका जिल्ला उपाध्यक्ष सुमन गैरे,राप्रपाका अध्यक्ष डुलबहादुर कुवंर, राष्ट्रिय जनमोर्चाका टिकाराम पौडेललगायत सरकारी तथा सामाजिक संघसंस्थाका प्रमुखहरुले संविधानको सही रुपमा कार्यान्वयन नभएको बताउनुभयो । उहाँहरुले नयाँ संविधान जारी भएको ८ वर्ष वितिसक्दा पनि आमनागरिकले फरक अनुभूती गर्न सक्ने अवस्था नआएकोले संविधानको मर्म अनुसार जनताको अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
संवाद कार्यक्रम समन्वय उपप्रमुख काशीका गैरेको स्वागत तथा प्रमुख टंकनाथ खानालको अध्यक्षतामा चलेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । संबिधान दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्लाका रिब्दीकोट, बगनासकालीलगायतका गाउँपालिकाले दीप प्रज्वलन कार्यक्रम समेत गरेका थिए । यस्तै जिल्लाका दशवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय पाल्पालगायतले विविध कार्यक्रम गरी दिवस मनाएका थिए ।