
पाल्पा । रामपुर नगरपालिकाले वार्षिक समीक्षा तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था , शैक्षिक गुणस्तर, समस्या र चुनौतिलगायतको विषयमा समीक्षा गरिएको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक विद्यालय शिक्षाको मेरुदण्ड भएको बताउँदै विद्यालयको शैक्षिक सुधार गर्ने पहिलो जिम्मेवारी शिक्षकले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख थापाले शिक्षकको अध्ययपन शैलीमा विद्यालयको शैक्षिक गुणस्तर निर्भर रहने भएकोले समय अनुसार शिक्षण सिकाई क्रियाकलापमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समग्र नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै संग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले अन्य क्षेत्रको विकास भन्दा शैक्षिक क्षेत्रको विकास गर्न सके मात्र अन्य विकासले सार्थकता रहने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले शैक्षिक विकासका लागि विद्यालय सुधारको योजना कार्यक्रम बनाएर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिलबहादुर खाँणले नगरभित्रका विद्यालयको शैक्षिक सुधारका लागि अनुगमनको पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
यस्तै वडा नं. ३ का वडाध्यक्ष दामोदर पाठकले विद्यालयमा सक्षम नेतृत्व र दक्ष जनशक्ति छनौट गर्नु पर्नेमा जोड दिनुभयो । वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाले विद्यालयमा विद्यार्थीको संख्या घट्नुको कारण बारे छलफल गर्नु पर्ने बताउनुभयो । वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले विद्यालय शैक्षिक सुधारका लागि कम विद्यार्थी भएका विद्यालय मर्ज गर्नु पर्ने बताउनुभयो । यस्तै वडा नं. ७ का वडाध्यक्ष दोवराज तिवारीले प्राविधिक धारमा संचालन भएका विद्यालय संकटमा रहेकोले यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि सुन्दर प्रसाद देवकोटाले नगर सरकारले लागु गरेको स्थानीय पाठ्यक्रमलाई परिस्कृत गर्दै लैजानु पर्ने बताउनुभयो ।
यस्तै गंगा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थीको अनुपातमा शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागीले सार्वजनिक शिक्षाको रुपान्तरणको लागि १९ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । सहभागीले स्थानीय सरकारले सार्वजनिक शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड बनाई कार्यान्वय गर्ने, शिक्षक कर्मचारी, जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन प्रोत्सहान गर्ने, विद्यालय शिक्षामा आवद्ध हुन नसकेका बालबालिका पहिचान गरी विद्यालय सम्म ल्याउने, प्रभावकारी र जिम्मेवारी बोध अनुरुपको अनुगमनका लागि प्रतिबद्ध हुने, नर्स स्वास्थ्य सेवा सहितको बालिका मैत्री विद्यालयका रुपमा विद्यालयलाई रुपान्तरण गर्दै लैजाने, विद्यालयको वार्षिक उत्सव लगायतका कार्यक्रम भड्किलो शैलीमा नगरी मौलिक कला संस्कृतिलाई प्रसय दिई गर्ने र असल संस्कारयुक्त शिक्षालाई व्यवहारमा लागु गर्नेलगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सीमादेवी थापाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा शाखा प्रमुख विकल काफ्लेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा चलेको हो ।