पाल्पामा राष्ट्रिय परिवार योजना दिवस मनाइयो

तानसेन । पाल्पामा १० औं राष्ट्रिय परिवार योजना दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

यस वर्ष ‘परिवार योजना सेवाको लक्ष्य ः आमा र बच्चाको स्वास्थ्य सुधार्न लागौं सबै पक्ष’ भन्ने नाराका देशभर दिवस मनाइएको छ । यसका साथै संघले ६५ औं नेपाल परिवार नियोजन दिवस पनि एकैसाथ मनाइएको हो ।

दिवसमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले आमाहरु स्वस्थ नभए सम्म स्वस्थ बच्चा हुर्कन नसक्ने बताउनुभयो । उहाँले त्यसैले आमाहरु सुरक्षित नहँुदा सम्म सक्षम शिशुहरु बढ्न नसक्ने भएकोले सरकारले आमा सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने बताउनुभयो । प्रदेश सभा सदस्य रानाले समाजिक विकासका क्षेत्रमा विषयगत रुपमा क्रियाशील सामाजिक संस्थाकोे महत्वपूर्ण भूमिका रहने बताउदै जिल्लाका यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा परिवार नियोजन संघ पाल्पा शाखाले गरेको कार्य प्रशंसा योग्य रहेको बताउनुभयो ।

जिल्ला संमन्वय समितिका प्रमुख टंकनाथ खनालले प्रजनन् स्वास्थ्य सम्बन्धी किशोर युवाहरु जिज्ञासु रहने तर बुझ्नको लागि विद्यालयमा प्रयाप्त पाठ्यक्रमको अभाव रहेको बताउनुभयो । विद्यालयस्तरमै यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा अध्ययन हुने गरी पाठ्यक्रम परिमार्जनका लागि हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक शोवाकान्त न्यौपानेले संघले जिल्लामा सम्पादन गरेका सेवा तथा काम, भएका उपलब्धी र भावी योजनाका बारेमा जानकारी गराउनुभयो । यसका साथै उहाँले जिल्लाको समग्र यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था, अवसर र चुनौतीका विषयमा सहजीकरण समेत गर्नुभयो ।

दिवसका अवसरमा पूर्व कर्मचारी तथा तानसेन ११ का वडाध्यक्ष यादब सिं कार्की, २५ वर्षभन्दा बढी काम गरेकी महिला स्वास्थ्य स्वयसेविका कुन्ति माया बराल र सिनियर अनमी सरस्वती पन्थीलाई यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सचिब यज्ञमूर्ति तिमिल्सिना, युनाइटेड मिसन अस्पतालका निर्देशक रचेल कारख, सम्मानित व्यक्तित्व तानसेन ११ का वडाध्यक्ष यादव सिं कार्की, जिल्ला संमन्वय समितिकाका समन्वय अधिकारी जनार्दन अधिकारीलगायतले सम्मानित सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले व्यवस्थित परिवार निर्माणका लागि प्रजनन् स्वास्थ्यको विकासमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अझै पनि ग्रामीणस्तरमा प्रजनन् स्वास्थ्यका विषयमा सचेतना कार्यक्रम आवश्यक रहेको बताउँदै व्यवस्थित परिवार अहिलेको आवश्यकता भएकोले यसलाई सहयोग पुग्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।

कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारीको स्वागत, संघका सभापति सुशील शाक्यको धन्यवाद ज्ञापन, कमल बस्यालको सञ्चालन तथा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर