
पाल्पा । नेकपा एमाले पाल्पाको आयोजनामा संविधान सभाका अध्यक्ष, पूर्व सभामुख तथा पार्टीका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको सम्झनामा आइतबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा संघीय सांसद, प्रदेश सांसद, पूर्व संविधान सभा सदस्य, जनप्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो।
सभामा सहभागीहरुले स्वर्गीय नेम्वाङको तस्वीरमा फूल र अबीर चढाउँदै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै नेम्वाङको निधनले नेपालको राजनीतिमा ठूलो क्षेती पुगेको बताए ।
एमाले पोलिटब्यूरो सदस्य तथा संघीय सांसद ठाकुर गैरेले नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताउनुभयो । मुलुकमा बेलाबखत जर्जर अवस्था आउने र त्यस्तो अवस्थाबाट बचाउन नेतृत्वदायी भूमिकामा रहेका नेम्वाङले संविधान जारी गरेर मुलुक बचाउन मुख्य भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।
एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले शालीन र भद्र नेता नेम्वाङको निधनले सिंगो पार्टीलाई दुखी तुल्याएको बताउनुभयो । देशले एउटा अभिभावक गुमाएको लुम्बिनी प्रदेस सांसद खेमबहादुर सारुले बताउनुभयो । नेम्वाङबाट एमालेका नेता सहित अन्य नेताले धेरै सिक्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो । संविधानलाई कार्यान्वयन गरे उहाँको सपना पूरा हुने उहाँको भनाइ थियो ।
सभामा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र पाल्पाका संयोजक राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका कार्यवाहक अध्यक्ष सुमन गैरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर,राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, संविधान सभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणी शर्मा घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, एमाले पाल्पाका सचिव रामजी पोखरेललगायतले राजनीति सद्भाव राख्न सक्ने व्यक्तित्व नेम्वाङ भएकोले नेपालमा उहाँ जस्तै नेताको आवश्यक रहेको बताए । उनीहरुले स्वर्गीय नेम्वाङ एमालेको मात्रै नभइ राष्ट्रकै नेता भएको बताए । कम्युनिस्ट वामपन्थी आन्दोलनमा नेम्वाङको भूमिका स्मरणीय रहेको बताउदै नेम्वाङ राष्ट्रिय व्यक्तित्व, तर्कशील, गहिरो अध्येता, सरल, सहज, समन्वय गर्ने क्षमतावान अभिभावक भएको समेत बताएको कार्यालय सचिव दीपक विश्वकर्माले जानकारी दिनुभयो ।







