तानसेन । पाल्पा जिल्ला अस्पतालमा जग्गा अभावका कारण स्तरोन्नतिमा समस्या देखिएको छ ।
अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक पटक सम्बन्धीत निकाय सगँ माग गरे पनि प्राप्त नभएको पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उहाँको भनाइ छ ।
यस्तै जिल्ला अस्पतालको व्यवस्थापन समितिको टोलीले तानसेन नगरपालिका सँग जग्गा व्यवस्थापनका लागि नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । जग्गा कम र नगरको बेवास्ताका कारणले विशेषज्ञ डाक्टर जिल्लामा बस्न नखोज्ने समस्या सिर्जना भएको अध्यक्ष आत्रेयले बताउनुभयो ।
उहाँका अनुसार पुरानो भौतिक संरचना र दरबन्दी अनुसारको जनशक्ति अभावका बिचमा पनि स्तरीय सेवा दिएको छ । पछिल्लो समय बिरामी भर्ना हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । अस्पतालमा भएका १५ बेडमा पूरा बिरामी भर्ना भएको अवस्था छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा पनि आन्तरिक रूपमा व्यवस्थापन गरेर सहज रूपमा सेवा उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ ।
उक्त विषयमा तानसेन नगरपालिकाले छलफल गरेर पक्रिया अगाडि बढाउने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।