पाल्पा । तानसेन नगरपालिकाका महिलाहरूले परम्परागत दुना टपरी उद्योग सञ्चालनमा ल्याएका छन् ।
पोस पाखा सामुदायिक वन तानसेन ९ डाँडाडुममाका महिलाहरूले डिभिजन वन कार्यालय पाल्पाको समन्वय र प्रदेश सरकारको अनुदानमा उद्योग सञ्चालन गरेको दुना टपरी सञ्चालन उपसमितिका अध्यक्ष सरस्वती सारूले बताउनुभयो । गाउँघरमा प्लास्टिकका सामग्रीको प्रयोग न्यूनीकरण, स्थानीय वनमा पाइने सालको पातको सदुपयोगसँगै आयआर्जन वृद्धिमा सघाउने उद्देश्यले दुना टपरीको उद्योग सञ्चालनमा ल्याएको अध्यक्ष सारूले बताउनुभयो ।
ग्रामीण भेगमा रहेका महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्य सहित पोस पाखा सामुदायिक वनले आफ्नै भवनमा मेसिन राखी उद्योग सञ्चालन गर्न दिने भएको छ ।
वनका अध्यक्ष तुल बहादुर गाहाका अनुसार हरेक महिनाको ५,१०,१५ र २० गते पात टिप्नका लागि वन खुलाइनेछ । महिलाहरूले आफैँले केही गर्छु भनेर व्यवसाय सुरु गर्न थाल्नुभएको छ , उद्यमी बनाउनका लागि वनले सदैव सहयोग गर्ने गाहाले बताउनुभयो । उहाँका अनुसार महिलाहरूलाई उद्यमी बनाउनै कै लागि प्रदेश सरकारले दुई लाख रुपियाँ अनुदानमा मेसिन वन समूहलाई सहयोग गरेको थियो । सामुदायिक वनमा आबद्ध महिलाहरूको ११ सदस्यीय उपसमिति बनाएर उद्योग सञ्चालनमा ल्याएको हो ।
प्लास्टिकका सामाग्रीको बढ्दो प्रयोगले पातको दुना टपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सिपलाई उपयोग गरी स्थानीय महिलाहरूलाई व्यावसायिक बनाउन आगामी दिनमा वडा समेत तालिम लगायत बजारीकरणमा वडा न ९ ले सहयोग गर्ने वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।
सालको पातको टपरी बनाउने चलन नयाँ पुस्तामा हराउँदै गएको समयमा पुर्ख्यौली वस्तुहरू जगेर्ना गर्नसमेत यो उद्योगले सार्थकता पाउने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।