लोपोन्मुख अवस्थामा तोरी पेल्ने कोल

पाल्पा। निस्दीमा पुर्खाले तोरीबाट तेल निकाल्न प्रयोग गर्ने कोल लोपोन्मुख अवस्थामा पुगेको छ ।

विकास र परिवर्तनको नाममा हाम्रो पुरानो संस्कृति अनि परम्परागत प्रविधिहरु बिस्तारै लोप हुँदै गएको छ । आजभोलि गाउँघरमा कोल प्रायः कमै मात्रामा देख्न पाइन्छ । कोल नयाँ निर्माण गर्न र भएको प्रयोगका विषयमा नयाँ पुस्तालाई जानकारी समेत छैन । प्रविधिको बढ्दो प्रयोगले गर्दा पुरानो पुस्ताले पनि कोल प्रयोगमा खासै चासो देखाएकोे पाइँदैन ।

पहिलाका हाम्रा पुर्खाहरु कन्दमूल खाने, खाली खुट्टा हिँड्ने, कोलमा पेलेको तेल खाने गरेको बुढापाकाले सुनाउनुहुन्छ । तर, हिजोआज भने ती संस्कृति अनि परम्परा बिस्तारै लोप हुँदै गएको छ । पछिल्लो समय विकासको नाममा भौतिक संरचना निर्माण गर्दा धेरै कोल हटाएको निस्दी ४ मित्यालका डिलबहादुर रासले बताउनुभयो । सडक, विद्यालय भवन, खेल मैदान जस्ता भौतिक निर्माणले कोल विस्थापित भएको उहाँको भनाइ छ ।

पहिला प्रायः गाउँ अनि भञ्ज्याङ्मा देखिने कोल अहिले निस्दी गाउँपालिका भित्र न्यून संख्यामा कोल देख्न पाइन्छ । कोलबाट तोरी र चिउरीको बियाँ पेलेर तेल निकाल्ने गरिएपनि अहिले चिउरीको बियाँ मात्र पेल्ने गरेको पाइन्छ । कोल निर्माणको लागि धेरै ठूलो अनि बूढो रुख चाहिन्छ । रुखको मुढालाई गोलो आकारमा कुँदेर कोलको मूल भाग तयार पारिन्छ । अन्य उपकरण तथा भागहरु पनि सबै काठबाटै तयार गरिन्छ ।

निस्दी गाउँपालिका–४, मित्यालको कोहोल भञ्ज्याङ्मा सबै गाउँलेहरु मिलेर निर्माण गरेको कोल नयाँ विद्यालय भवन निर्माण गर्दा हटाइएको स्थानीयवासी रासले बताउनुभयो । हामी बच्चा हुँदा त्यस्तै देखेको कोलमा तोरी पेलेको सुनाउनुहुँदै रासले यस्ता पुराना थुप्रै संस्कृति र परम्परा हराउँदै गएकोमा दुखेसो पोख्नुभयो । हामी त्यहीँ कोलमा पेलेको तोरीको तेल खाएरै हुर्केका हौँ, अहिलेका केटाकेटीलाई सुनाउदा लोककथा सुनाए झै लाग्छ होला । पहिला अहिलेको जस्तो मिल थिएन तेल खाने हो भने कोलमै पेल्नुको विकल्प नभएको रासले बताउनुभयो । पुराना संस्कृति र परम्पराले हाम्रो मौलिक पहिचान झल्काउने भएको हुँदा संरक्षण तथा सम्वद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

परम्परा र संस्कृति टिकाउको लागि अहिलेसम्म आफ्नो गाउँको कोललाई जोगाइराखेको झिरुबासका प्रेम कुमार सोतीले बताउनुभयो । हिजोआज धेरै ठाउँबाट चिउरी पेल्नको लागि यहाँ आउने गरेको सोतीले बताउँदै हामीले हाम्रो गाउँको लागि मात्रै नभएर सबैलाई फाइदा मिलोस भनेर कोल संरक्षण गरेर राखेको सोतीले बताउनुभयो ।

कोलमा चिउरीको बियाँ पेलेर तेल निकाल्ने गरिन्छ । साउन, भदौ महिनामा आÇनो निजी वन तथा जंगलमा झरेको चिउरीको बियाँ खोज्ने गरिन्छ । बियाँलाई तीन चार दिन राम्रोसँग घाममा सुकाउनु पर्दछ । सुकेको बियाँलाई ढिकीमा कुटेर मसिनो गरी फुलो बनाएपछि कोलमा पेल्ने गरिन्छ । गाउँका चार पाँच घर मिलेर घाम लागेको बेला कोलको प्रयोग गरिन्छ । महिलाले फुलोलाई माटोको भाँडामा उसिन्ने गर्दछ, उसिनेको फुलोलाई कोलमा राखेपछि केहीबेर पाँच छ जनाले घुमाएर तेल निकाल्ने गरिन्छ । यसरी तयार भएको चिउरीको तेल (घिउ) रोटी पकाउन, मकै भटमास भुटन र कोही कसैले तरकारी पकाउदा समेत प्रयोग गर्दछन् । तेल निकालेपछिको पिना कृषकले बारीमा मलको रूपमा प्रयोग गर्दछन् ।

कोल लोप हुनु एउटा उदाहरण मात्रै हो । पछिल्लो समय यी र यस्ता थुप्रै परम्परागत प्रविधि र संस्कृति हराउँदै गएका छन् । नयाँ पुस्ताको रुचि नहुँदा पाकापुस्ताबाट सीप ज्ञान र प्रविधिको पुस्ता हस्तान्तरण हुन सकेको छैन । मुलकमा संघीयता लागु भएपछि स्थानीयस्तरमा स्थानीय सरकार क्रियाशील छ । पुराना प्रविधि र संस्कृतिको संरक्षण र प्रयोगमा आवश्यक बजेट विनियोजन गरेर काम गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

सम्बन्धित खवर