
तानसेन । पाल्पाको तानसेन नगरपालिका –७ को निर्माणाधीन चिस्यान केन्द्र १२ वर्ष देखी अलपत्र अवस्थामा छ ।
भारतीय राजदूतावासको चार करोड ९९ लाख ९१ हजार नौ सय पाँच रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा फलफूल, तरकारी उत्पादन गर्दै आएका किसान मर्कामा परेका छन् ।
तानसेन वाघखोरमा निर्माणाधीन चिस्यान केन्द्रको काम पुरा त भएको छैन नै संरक्षणको अभावमा भत्किँदै गएको तानसेन ७ प्रभासका मुक्ति भुषालले बताउनुभयो । उहाँले वरपर तार जाली नहुँदा बनेको संरचनाको अवस्था बिजोग भएको बताउनुभयो चिस्यान केन्द्र बनेपछि बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न पाउने आस लिएका तानसेन बासीहरुको आस निराशामा परिणत भएको छ ।
चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबार समेत नहुँदा अहिले सवारी पार्किङ र कुकुर लगायतका पशु चौपाया बस्ने थलो बनेको छ । स्थानीय कृषक हरि पाण्डेले ७ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ , उहाँले आफ्नो बारीमा सिजन अनुसारका तरकारी लगाउनुहुन्छ तर कहिलेकाहीँ तरकारी समयमा बेच्न नपाउँदा खेतबारीमै कुहिने बताउनुभयो ।
चिस्यान केन्द्र दुई वर्षमा सक्ने गरी निर्माण सुरु गरिएपनी १२ वर्ष सम्म २७ प्रतिशत मात्र काम भएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत प्रसाद आचार्य बताउनुभयो । तेत्तीस फिट अग्लो, २६ मिटर लम्बाइ र १४ मिटर चौडाइको चिस्यान केन्द्र, दुई हजार टन कृषि उपज राख्न सकिने क्षमताको छ ।
भारतीय राजदूतावासको सहयोगमा २०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेठ २३ गते काम सक्ने लक्ष्य लिएको थियो तर काम २७ प्रतिशत मात्र भएको छ आचार्यले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनी हिमडुंग एन्ड थोकर र जय रक्त काली जेबीले तानसेन नगरपालिकाबाट रु दुई करोड बढी रकम भुक्तानी लगेका छन् । आर्थिक सहयोग गरेको भारतीय राजदूतावासले चिस्यान केन्द्रको अवलोकन गरेको छ । समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पूर्व निधारित क्षतिपूर्ति रु ४८ लाख रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो ।
पूर्वनिर्धारित योजना र सम्झौताअनुसार काम नगरेको भन्दै पटक पटक परिपत्र गर्दै आएको नगरपालिकाले अन्य कम्पनी छनोट गरेर भए पनि योजना सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
पाल्पामा तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, अदुवा, दूधलगायत कृषि उत्पादन भण्डारण गर्न किसानको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । तानसेनमा सो केन्द्र निर्माण पछि उत्साही यहाँका कृषक निर्माण कार्यमा भएको ढिलाइले पुनः निरुत्साहित बनेका हुन् ।









