
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहामा झोलेपोके व्यापारीलाई प्रवेश निषेध गरिने भएको छ ।
सोमबार वडा कार्यालयमा बसेको बैठकले झोलेपोके व्यापारीलाई वडाभित्र प्रवेश निषेध गर्ने सहितका तीन निर्णय गरेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।
पछिल्लो समय आर्थिक मन्दिका कारण व्यापारीहरुलाई व्यवसाय छोड्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा खुल्ला सीमानाबाट भन्सार छलिगरी सामान ल्याएर बेच्दै हिँड्ने झोलेपोके व्यापारीको बाक्लो उपस्थितिले ख्याहाका व्यापारीहरु मर्कामा परेकाले यस्तो निर्णय गरिएको वडाध्यक्ष पोखरेलको भनाइ छ ।
वडाध्यक्ष पोखरेलले चाडपर्वलाई लक्षित गरेर वडा भित्र कुनै प्रकारको झोलेपोके व्यापारीलाई प्रवेश गर्न नदिने लुकिछिपी गाउँमा सामान विक्री गरेको भेटिएमा दण्ड जरिवाना गरिने बताउनुभयो । जरिवानाका विषयमा कानुनी व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिनुभयो ।
यस्तै वडा कार्यालयले नागरिकबाट खरिद गरेको दुना टपरीको विक्री मूल्य निर्धारण गरेको छ । वडा कार्यालयले नागरिकबाट दुना प्रति गोटा ५ रुपैयाँ र टपरीलाई प्रतिगोटा १० रुपैयाँमा खरिद गरेको दुना टपरीको विक्री दररेट निर्धारण गरेको हो । खरिद गरेको टपरी वडाभित्र ८ रुपैयाँ र दुनाको ४ रुपैयाँका दरले विक्री गर्ने निणर्य गरेको छ । वडाभन्दा बाहिर विक्री गर्नुपरेमा दुनालाई ५ रुपैयाँ र टपरी १० रुपैयाँमा विक्री गर्ने निर्णय गरिएको वडाध्यक्ष पाखरेलले बताउनुभयो ।
यसका साथै बैठकले वडा कार्यालयको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा भदौं २८ गते वडाका महिला दिदी बहिनीलाई दर खुवाउने र पुरानो परम्परा अनुसारका मौलिक तीजका गीतमा रमाइलाे गर्ने कार्यक्रम गर्ने निणर्य समेत गरेको छ ।