
पाल्पा । रामपुरमा गाईको सालिक निर्माण गरिएको छ ।
गौहत्याको विरुद्धमा देशैभर कार्यक्रमहरू भइरहेका बेला पाल्पाको रामपुरमा गौ सालिक निर्माण गरिएको रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
रामपुरको मिलन चोकलाई गौशाला चोक नामकरण गरिएको छ ।रामपुर नगर गौशाला समितिले वडा ६, मिलन चोकमा कामधेनु गाईको सालिक निर्माण गरेको हो ।
गौ सालिक अनावरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले धार्मिक विवादहरू बाहिर आइरहेको सन्दर्भमा सहिष्णुता कायम गर्दै एकले अर्को धर्मको सम्मान गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले गाई राष्ट्रिय जनावर मात्रै नभई धार्मिक, सांस्कृतिक महत्त्व रहेकाले संरक्षणमा ध्यान दिनु सबैको दायित्व रहेको बताउनुभयो ।
रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले राष्ट्रिय जनावरसँगै माताको रूपमा पुज्दै आएको गाईको हत्या गर्ने, हेला गर्ने प्रवृत्ति बढ्दै गएकाले गाईको संरक्षणका लागि सन्देश प्रवाह गर्न गाईको सालिक निर्माण गरिएको बताउनुभयो ।उहाँले सञ्चालनमा रहेको नगर गौशालाको पहिचानसँगै यसलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न ९० हजारको लागतमा सालिक निर्माण गरिएको जानकारी दिनुभयो ।
गाईलाई हेला गरेर छाडा छाड्ने क्रम बढ्दै जाँदा कृषकको बालीमा क्षति पुग्न थालेपछि रामपुर नगरपालिकाले २०७६ सालमा तातोपानी धाममा गौशाला स्थापना गरेको थियो ।