तिनाउकाे माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ को नतिजा विश्लेषण

पाल्पा । तिनाउ गाउँपालिकाको आयोजनामा माध्यमिक विद्यालयहरुको शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ को नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाभित्र रहेका नौ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक सत्र २०७९ को एसइई र कक्षा १२ को आ–आफ्ना विद्यालयको नतिजाहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाको शैक्षिक नतिजा गत वर्षको तुलनामा राम्रो भएता सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभयो । तिनाउको शैक्षिक अवस्था सुधार्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै शैक्षिक उन्नतिका लागि शैक्षिक योजना बनाई कार्यान्वयन गरिने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउको शैक्षिक विकासका लागि सक्दो बजेट विनियोजन गरिएको बताउनुभयो । भौगोलिक विकटता र विद्यार्थीको अभावले गर्दा शैक्षिक अवस्था कमजोर बन्र्दै गएको उहाँको भनाइ थियो ।

सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले गाउँपालिकाको शैक्षिक उन्नतिका लागि प्रधानाध्यापकहरुले एक साताभित्र विद्यालयको शैक्षिक योजना अनिवार्य पेश गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानाध्यापकहरुलाई जिम्मेवारीपूर्ण तरिकाले काम गर्न अनुरोध गर्नुभयो ।

गाउँ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले गाउँपालिकाको शैक्षिक विकासमा प्रधानाध्यापकहरुको नेतृत्वदायी भूमिका हुनुपर्न बताउनुभयो । साथै उहाँले नतिजाहरुको विश्लेषण गरी आवश्यक योजना, कार्यक्रम तय गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रबक्ता यादवप्रसाद अर्याल र वडा नं ६ का वडाध्यक्ष टोमबहादुर पुन, शिक्षा शाखाका प्रमुख लक्ष्मी कुँवर, किसन ज्ञवालीलगायतले शैक्षिक गुणस्तर उकास्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय