
तानसेन । पाल्पामा सुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या गतवर्षको तुलनामा उस्तै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार तीन सय ३४ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । जिल्लाको तानसेन नगरपालिकामा सात सय ८६ जनाले गर्भपतन गराएका छन्, यस्तै रामपुर नगरपालिकामा एक सय ५७, रैनादेवि गाउँपलिकामा ७३, माथागढी गाउँपालिकामा ७०, रम्भा गाउँपालिकामा ५७, पूर्वखोला गाउँपालिकामा ४४, रिब्दीकोट गाउँपालिकामा ४२, तिनाउ गाउँपालिकामा ४०, बगनासकाली गाउँपालिकामा ३५ र निस्दी गाउँपालिकामा ३० जनाले गर्भपतन गराएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउने मध्य एक हजार दुइ सय ३५ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला रहेका छन् भने ९९ जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै गत आर्थिक वर्ष ७८/७९ मा एक हजार चार सय चार जनाले गर्भपतन गराएका छन् । सबैभन्दा बढि तानसेन नगरपालिकामा आठ सय ८९ जनाले गर्भपतन गराएका छन् । यस्तै रामपुर नगरपालिकामा एक सय ६५, पूर्वखोला गाउँपालिकामा ५३, रम्भा गाउँपालिकामा ६८, बगनासकाली गाउँपालिकामा ६३, रिब्दीकोट गाउँपालिकामा ३२, रैनादेवि छहरा गाउँपालिकामा ५१, तिनाउ गाउँपालिकामा १७, माथागढी गाउँपालिकामा ४८ र निस्दी गाउँपालिकामा १८ जनाले गर्भपतन गराएको अधिकारीले बताउनुभयो ।
उँहाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सुरक्षित गर्भपतन गराउने मध्ये एक हजार दुइ सय ८१ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला रहेका छन् भने एक सय २३ जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले ७९/८० मा एक हजार एक सय ९५ जनाको मेडिकल विधिबाट र एक सय ३९ जनाको सर्जिकल सुरक्षित गर्भपतन गराएको बताउनुभयो । यस्तै ७८/७९ मा एक हजार तिन सय ३१ जनाले मेडिकल विधिबाट र ७३ जनाले सर्जिकल विधीबाट सुरक्षित गर्भपतन गराएका छन् । उहाँका अनुसार मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराउनेमा दुई वर्षमा दुइ हजार तीन सय २५ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र दुइ सय एक जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेका छन् ।
जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाको पहुँच र त्यही अनुसारको सचेतना मुलक सूचना फैलाइएकाले पनि सुरक्षित गर्भपतन गराउनेको संख्या उस्तै उस्तै रहेको प्रमुख गिरीले जानकारी दिनुभयो । असुरक्षित गर्भपतनले महिलाको ज्यानै जान सक्ने भएकाले गर्भपतन गर्नुपर्ने अवस्थामा सुरक्षित गर्भपतन गराउनु पर्ने उहाँको भनार्ई छ ।