स्वास्थ्यको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी तानसेनमा सुरु भएको छ ।

जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसहित अन्य अस्पताल र स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रहेको गोष्ठीमा आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका स्वास्थ्य सेवाको प्रगति समीक्षा हुनुका साथै स्वास्थ्य क्षेत्रमा रहेका सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरी चालु आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना तयार गरिने कार्यालय प्रम्ुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

गोष्ठीमा जिल्लामा स्वास्थ्य सेवा प्रवाहको अवस्था र गत वर्षको प्रगतिका विषयमा स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत टुकप्रसाद पोखरलले जानकारी गराउनु भएको थियो ।

गाष्ठीमा पाल्पा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले जिल्लामा आमनागरिकले क्रमिक रुपमा स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्ने अवस्था निर्माण भैरहेको बताउनुभयो । उहाँले यस विषयमा स्वास्थ्यकर्मीहरुको सक्रियता प्रशंसायोग्य रहेको समेत बताउनुभयो । सांसद आचार्यले कोभिड १९ को संक्रमणका बेला स्वास्थ्यकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले जिल्लाका ठूला अस्पतालहरुले अधिकार मात्र खोज्ने दायित्वका विषयमा गैरजिम्मेवार बन्दा पाल्पाली जनता ती अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिन नपाउने अवस्थामका पुगेको बताउनुभयो ।

प्रदेश सभा सदस्य वीरबहादुर रानाले लिखित रुपमा आउने प्रगति प्रतिवेदन अत्यन्तै राम्रो हुने गरेको बताउँदै सोही अनुसारको सेवा दुरदराजसम्म पुगेको ग्यारेण्टी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा सबैभन्दा पहिला स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले पहिला स्वास्थ्य नै धन हो भन्ने भनाई परिर्वतन भएर पछिल्लो समय स्वास्थ्य नै जीवन भन्ने परिभाषा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले शारीरिक स्वास्थ्यलाई महत्व दिएको भएपनि मानसिक र सामाजिक स्वास्थ्यका विषयमा ध्यान दिन नसक्दा विभिन्न खाले समस्या समाजमा बढेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पहुँच नभएको वर्गमा सहज रुपमा स्वास्थ्य सेवा पुग्नेगरी गोष्ठीले कार्ययोजना तयार गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा प्रमुख जिल्ल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले वार्षिक प्रगति समीक्षाबाट उपलब्धी, समग्र समस्या, चुनौती र सम्भावनाका विषयमा अर्थपूर्ण छलफल गरी कार्ययोजना निर्माणका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले राज्यबाट नागरिकको स्वास्थ्यमा लगानी बढेको कुरा नागरिकलाई बुझाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । यसका साथै प्रगति कम भएको विषयमा समस्याको पहिचान गरी समाधानको बाटो खोज्न समीक्षा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गाष्ठीमा कार्यालय प्रमुख डा गिरीले जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा बालविवाह एउटा सामाजिक सवाल बनेकोले यस विषयमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । प्रमुख डा.गिरीले स्वास्थ्य सेवा सुधारका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसुति गृह सञ्चालन र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमबारदेखि सुरु भएको गोष्ठीमा दश स्थानीय तहको प्रगति प्रस्तुती गरिएको छ । मंगलबार अन्य अस्पताल तथा स्वास्थ्य संग सम्बन्धित संस्थाहरुको प्रस्तुति, दुई स्थानीय तहलाई सम्मान गरिने सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर